प्रधानमन्त्री भट्टराईद्वारा मन्त्रिमण्डल विस्तार शुरु

  • 29 अगस्ट 2011
माओवादी नेतृत्व
Image caption मन्त्रिमण्डल बाँडफाँडबारे माओवादी भित्रै पनि विवाद हुनसक्ने अनुमान छ

राष्ट्रपति रामवरण यादवबाट आफ्नो पद तथा गोपनियताको सपथ लिए लगत्तै नवनियुक्त प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिमण्डलको विस्तार थालेका छन्।

प्रमुख सत्ताधारी दल एकीकृत माओवादी र सत्ता साझेदार मधेसी मोर्चा र अन्य घटकहरुबीच ठोस सहमति नभएका कारण भट्टराईले मन्त्रिमण्डलमा एक जना मात्र सहभागी गराएका छन्।

जम्मा २६ जना सहभागी हुने भनिएको नयाँ मन्त्रिमण्डल विस्तार हुन अझै केहि दिन लाग्ने भट्टराईका एक सहयोगीले बताए।

एउटा औपचारिक समारोहमा राष्ट्रपति यादवसंग आफ्नो पद तथा गोपनियताको सपथ लिएपछि सोमबार भट्टराईले विधिवत रुपमा प्रधानमन्त्रीको पदभार सम्हालेका हुन्।

मन्त्रिमण्डल

आफूले राष्ट्रपतिबाट सपथ लिएको केही बेरमै भट्टराईले मधेसी मोर्चाको तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छेदारलाई उपप्रधानमन्त्री तथा गृह मन्त्री पदको सपथ दिलाएका थिए।

माओवादी पक्ष र मधेसी मोर्चाबीच सोमबार बिहान भएको छलफल पछि दुई सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति बनेको थियो।

भट्टराई निकट मानिने माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलका अनुसार मन्त्रिमण्डलमा जम्मा २६ सदस्यहरु रहने गरी विस्तार गर्ने तयारी भइरहेको छ।

तर मन्त्रिमण्डलमा माओवादीबाट, मोर्चाबाट र अन्य साना दलहरुबाट ठ्याक्कै कति, कति जना सहभागी गराउने त्यसको टुङ्गो भने भइसकेको छैन।

बाँडफाँड

आइतबार प्रधानमन्त्रीको चुनाव अघि माओवादी र मधेसी मोर्चाबीच सहमति भएपछि मोर्चाका तर्फबाट १३ जना मन्त्रीहरु सरकारमा रहने चर्चा चलेको थियो।

तर माओवादीका पोलिटब्युरो सदस्य पौडेलले मन्त्रिमण्डल विस्तारबारे दुबै पक्षको गृहकार्य जारी रहेको बताए।

उनले भने, “मन्त्रिमण्डल विस्तार र बाँडफाँडबारे मिहिन र मसिनो गरि कुराकानी हुँदैछ अब दुई तीन दिनमा को को जाने कति कति जाने भन्ने टुङ्गो लाग्छ।”

यस अघि बनेका सरकारहरुले आफ्ना सत्ता साझेदारहरुलाई सन्तुष्ट बनाउँदै सजिलै र छिट्टै मन्त्रिमण्डल बिस्तार गर्न सकेका थिएनन्।

चुनौती

यसपाली पनि टुक्रिएका साना साना दलहरु मिलेर बनेको मोर्चा र आफ्नो पक्षमा मतदान गरेका अन्य साना दलहरुलाई खुशी बनाउँदै मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिन प्रधानमन्त्री भट्टराईलाई मुस्किल पर्न सक्छ।

मन्त्रालयहरुको बाँडफाँडका क्रममा भट्टराईले आफ्नै दलभित्रका विभिन्न खेमाहरुलाई चित्त बुझाउनु पर्नेछ।

त्यो काम उनलाई सहज नहुन सक्छ।