हतियार कन्टेनर विशेष समितिलाई बुझाउन शुरु

  • 1 सेप्टेम्बर 2011
माओवादी उपाध्यक्ष मोहन वैद्य किरण
Image caption उपाध्यक्ष वैद्यले आफुहरु अहिले नै साँचो बुझाउने प्रति असहमत रहेको जनाए

निकै विवादकाबीच माओवादी लडाकुहरुको हतियार र कन्टेनर सेना समायोजन विशेष समितिलाई हस्तान्तरण गर्ने निर्णयको कार्यान्वयन शुरु भएको छ।

माओवादीका सैन्य इन्चार्ज बर्षमान पुनका अनुसार बिहीबार साँझसम्म सातवटै शिविरहरुमा तिनको हस्तान्तरण भइसकेको छ।

तर कुनै कुनै शिविरमा हस्तान्तरणको काम सम्पन्न नभएका खबरपनि आएका छन्।

किचलो

प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको समितिको बैठकले बुधबार गरेको निर्णय सत्तारुढ माओवादीको आन्तरिक किचलोका कारण बिहीबार दिनभर अन्योलमा परेको थियो।

माओवादीभित्रका कट्टरपन्थी भनिने उपाध्यक्ष वैद्य पक्षधरहरुले त्यसमा असहमति जनाएका छन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बाबुराम भट्टराई तथा उपाध्यक्ष मोहन वैद्य किरणसंग छुट्टै कुराकानी गरेपछि कन्टेनरको साँचो समितिका अनुगमनकर्ताहरुलाई बुझाउने टुंगो लागेको थियो।

अबेर साँझसम्ममा त्यसको कार्यान्वयन भइसकेको वर्षामान पुनले बताए।

“अहिलेसम्म सबैतिर सम्पन्न भइसकेको खबर आएको छ,” उनले भने।

आशंका

प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बुधबार पहिलोपल्ट बसेको समितिको बैठकले लडाकु र कन्टेनर हस्तान्तरण गर्ने भन्ने निर्णयलाई निकै महत्वपूर्ण भएको चित्रण गरेको थियो।

तर उनकै पार्टी माओवादीभित्र खासगरी कट्टरपन्थी भनिने खेमाका नेताहरुको विरोधका कारण त्यो निर्णय कार्यान्वयन हुनेमा दिनभर आशंका कायम रह्यो।

विशेषगरी उपाध्यक्ष मोहन वैद्य किरणले कन्टेनरको साँचो बुझाउने कुरा अप्रिय मानेपछि प्रक्रिया केहीबेर अड्किएको थियो।

तर साँझ माओवादीले साँचो बुझाउने निर्णय गर्‍यो।

“कतिपय राजनीतिक दलहरुले साँचो बुझाउने भनेका छन्। अब घरै बुझाएपछि साँचो आफुसित छ भन्नुको के अर्थ भयो र भन्ने भावनामा अध्यक्षले कुरा गर्नुभएपछि साँचो बुझाउने कुरा पार्टीको निर्णय विपरित नभएको निष्कर्ष निक्लियो,” माओवादी प्रवक्ता दिनानाथ शर्माले भने।

शुरु

सो निर्णय लगत्तै पाँच बजेपछि देशका विभिन्न भागमा रहेका कतिपय शिविरहरुमा त्यसको कार्यान्वयन शुरु भयो।

पूर्वी नेपालको चुलाचुली क्याम्पका सहकमाण्डर रामबाबु थापाले बीबीसीलाई भने, “चाबी दिने काम सकियो। विशेष समितिका प्रतिनिधिहरुलाई बुझायौं।”

तर बिहीबार अबेर साँझसम्म रोल्पास्थित दहबन शिविरमा हस्तान्तरण सकिएको थिएन।

लडाकु र हतियार राखिएका कन्टेनर सरकारी निकायलाई गरिएको हस्तान्तरणलाई सेना समायोजन प्रक्रियाको महत्वपूर्ण कदम मानिएको छ।

तर माओवादीभित्र प्रभावशाली मानिएका वैद्य समूहका नेताहरुको असहमति रहेको कारण उक्त प्रक्रिया अझै सहज रुपले अघि बढ्नेमा शंका भने कायमै छ।