शान्ति विना संविधान संभव नहुने कांग्रेस, एमालेको भनाइ

  • 8 सेप्टेम्बर 2011
माओवादी नेताहरु
Image caption शान्ति प्रक्रिया टुङ्ग्याउनेबारे माओवादी भित्रै विवाद जारी छ

प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले शान्ति प्रक्रिया टुङ्ग्याउनको निम्ति एकीकृत माओवादीले तत्काल कामहरु नथाले संविधान निर्माण कार्य अघि नबढ्ने चेतावनी दिएका छन्।

साझा धारणा बनाउन दुबै दलको शीर्ष नेताहरु सहभागी बिहिबारको वैठकमा उनीहरुले माओवादीले विगतका सम्झौताहरु पालना गर्नु पर्नेमा जोड दिएका छन्।

दोस्रो दिन चलेको प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेका वरिष्ठ नेताहरुको वैठकमा भएको सहमति अनपेक्षित थिएन।

दुबै प्रतिपक्षी दलहरुले डेढ महिना भित्र शान्ति प्रक्रियाका आधारभूत काम सिध्याउन माओवादीमाथि दबाब बढाउने निर्णय गरेका छन्।

शान्ति पक्रिया

दुई दलिय वैठकमा भएको सहमतिबारे एमाले नेता बामदेव गौतमले संवाददाताहरुलाई भने, “दुबै दलले सरकारलाई र माओवादीलाई शान्ति प्रक्रिया अघि बढाउन काम गर्न आग्रह गरिरहने भन्ने सहमति भएको छ।”

उनका अनुसार दुबै दलका प्रतिनिधिहरुले माओवादी सेना समायोजन विशेष समितिको वैठकमा पनि माओवादी पूर्व लडाकूहरुको समायोजन र पुन:स्थापना कार्य अघि बढाउनको निम्ति सहमति बनाउन माओवादी माथि दबाब दिने छन्।

बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित हुनु अघि माओवादीले ल्याएको प्रस्तावमा डेढ महिना भित्र माओवादी प‍ूर्व लडाकूहरुको पुन:वर्गिकरण गर्ने उल्लेख छ।

तर त्यस विषयमा भट्टराई प्रधानमन्त्री चुनिएको १२ दिन वितिसक्दा पनि ठोस प्रगति हुन सकेको छैन।

राज्य पुन:संरचना

कांग्रेस-एमाले वैठकमा सहभागी कांग्रेस नेता अर्जुन नरसिंह केसीका अनुसार शान्ति प्रक्रियामा सहमति र प्रगति नभए संविधान निर्माणले पनि गति नलिनेमा दुबै पक्ष एक मत थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कतिपय नेताहरुले शान्ति प्रक्रियालाई टुङ्ग्याउँन माओवादी गम्भीर नभए राज्य पुन:संरचना आयोगको सट्टा वीज्ञ समुह बनाउने प्रस्तावलाई समेत समर्थन नगर्ने चेतावनी दिइसकेका छन्।

राज्य पुन:संरचनाको विषय संविधान निर्माणका क्रममा उत्पन्न प्रमुख विवादित मुद्दाहरु मध्येको एक हो।