सरकारद्वारा राहत प्याकेज घोषणा

  • 9 सेप्टेम्बर 2011
प्रधानमन्त्री बाबुराम भट्टराई
Image caption प्रम भट्टराईले राहत कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्ने बताएका छन्

आफु प्रधानमन्त्री भए लगत्तै जनतालाई तत्काल राहत दिन भन्दै बाबुराम भट्टराईले शुक्रबार कार्यक्रमहरुका प्याकेज सार्वजनिक गरे।

महंगी तथा भ्रष्टाचार नियन्त्रण, सुरक्षा व्यवस्थामा सुधार तथा संक्रमणकालीन व्यवस्थापन जस्ता शीर्षकमा प्रस्तुत उक्त कार्यक्रमहरुले शान्ति र संविधानको मूल लक्ष्य प्राप्त गर्न सहयोग गर्ने प्रधानमन्त्री भट्टराईले बताए।

ती कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई राहत, नुन, चिनी, चामलको मूल्यमा केही सहुलियत तथा गुण्डागर्दी नियन्त्रण समेत समेटिएका छन्।

तर ती सबैको कार्यान्वयन हुनसक्नेमा अझै आशंकाहरु कायम छन्।

छनक

बिहीबारै ल्याउने तयारी गरिएको उक्त राहत प्याकेजलाई तराई केन्द्रित दलका मन्त्रीहरुले परिमार्जन गर्न चाहेपछि एक दिन ढिलो गरी शुक्रबार ल्याइयो।

त्यसको प्रष्ट छनक प्याकेजको शुरुकै अनुच्छेदहरुमा झल्कन्थ्यो।

नेपाली सेनामा तराईका समुदायहरुको छुट्टै इकाईमा दश हजारको भर्ना थाल्नुपर्ने तराई केन्द्रित दलहरुको माग राहतले सम्बोधन गर्न खोजेको छ।

कार्यक्रम वाचन गर्दै अर्थ मन्त्री वर्षमान पुन अनन्तले भने, “मधेशी समुदायको पहिचान स्थापित गर्न दश हजारको संख्याबाट भर्ना माग गरिएको सन्दर्भमा तत्कालनै निश्चित संख्याबाट भर्ना प्रक्रिया थालनी गरिनेछ।”

सुन्दा 'आकर्षक'

सिंहदरबारमा एउटा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको उक्त प्याकेजमा सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएकाहरु सम्बन्धी विधेयक १५ दिनभित्र संसदबाट पारित गर्न पहल गरिने मात्र नभई द्वन्द्वकालमा कब्जा गरिएका सम्पत्ति फिर्ता गराउन तत्काल निर्देशन दिने पनि उल्लेख छ।

झण्डै झण्डै बजेट जस्तै सुनिने एघार पेज लामो उक्त प्याकेजले धेरै कुरा समेट्न खोजेको छ।

सार्वजनिक संस्थाहरुबाट किन्दा नुन, चिनी, चामल तथा घ्यूमा प्रति किलो दुई देखि १० रुपियाँ सम्म घटाइने कुरा सुन्दा निकै आकर्षक लागेपनि त्यसको प्रभावकारिता भने प्रष्ट नभएको विश्लेषकहरु बताउँछन्।

भ्रष्टाचार घटाउन मन्त्रीहरुका लागि आचार संहिता निर्माण गर्ने देखि लिएर ठेक्कापट्टालाई गुण्डागर्दी मुक्त पार्ने वाचा प्याकेजले गरेको छ।

तर मूल लक्ष्य शान्ति र संविधान राखेको सरकारले यतिका धेरै कामहरुमा एकैचोटि ध्यान दिन सक्नेमा धेरैलाई शंका छ।

त्यसबारे जानकार प्रधानमन्त्रीले पत्रकार सम्मेलनको क्रममा ती शंका मेटाउने प्रयास गरे।

“हाम्रो कर्मचारीतन्त्र सक्षम छ। मैले भन्ने गरेको के छु भने कर्मचारीतन्त्र भनेको त हतियार हो। चलाउन जान्नेले राम्रो परिणाम निकाल्छ, नजान्नेले आफ्नै हात काट्छ। एउटा स्पष्ट दिशाबोध सहित आएको हुनाले यो सरकारले सफलता प्राप्त गर्छ भन्नेमा म विश्वस्त छु,” भट्टराईले भने।

विगतमा भिन्न भिन्न सरकारले ल्याएका यस्तै प्रकारका राहत प्याकेजहरुको दुर्दशा देखेका आम मानिसहरु भने भनाई भन्दा गराईकै प्रतिक्षामा छन्।