संवैधानिक समितिको वैठक निश्कर्षविहिन

  • 13 सेप्टेम्बर 2011
संविधान सभा
Image caption पटक पटक म्याद थपिएपनि संविधान निर्माणबारेका विवादहरु समाधान भएका छैनन्

पटक पटक संविधान सभाको म्याद थप्दा पनि अवरुद्ध नै रहेको संविधान निर्माणको कामलाई गति दिन डाकिएको संवैधानिक समितिको वैठक निश्कर्षविहिन भएको छ।

दोस्रो पटक संविधान सभाको म्याद तीन महिनाका लागि थपिएपछि मंगलबार पहिलो पटक संवैधानिक समितिको वैठक बसेको थियो।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पहिला शान्ति प्रक्रियामा प्रगति हुनु पर्ने अडान नछोडेपछि सो वैठकमा सहमति जुट्न सकेन।

संविधान सभाको म्याद फेरि अर्को पटक थपिएपछि पहिलो पटक बसेको संवैधानिक समितिको वैठकबाट संविधान निर्माणको कामलाई गति दिने आधारहरु तय गर्ने आशा कतिपयको थियो।

विमति

तर त्यसो हुन सकेन। शान्ति प्रक्रिया पटक्कै अघि नबढेको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएपछि संविधान निर्माणबारेका विवाद टुङ्ग्याउने प्रयास अगाडी बढ्न सकेन।

वैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संवाददाताहरुलाई भने, “माओवादी सेनाहरुको समायोजन, हतियारको व्यवस्थापन नभएसम्म संविधान निर्माण सम्वन्धी विवादहरु हल हुन सक्दैनन्।”

माओवादी हातहतियार विशेष समितिलाई बुझाउने विषयलाई लिएर उत्पन्न माओवादी भित्रकै विवाद नसल्टिएकोले पूर्व लडाकूहरुको समायोजन र पुन:स्थापनाको लागि आवश्यक पुन:वर्गीकरणको काम अवरुद्ध भएको छ।

त्यस विषयमा प्रगति नभएसम्म संविधान निर्माणबारेको एउटा प्रमुख विवादित मुद्दा, राज्य पुन:संरचना आयोगको सट्टा वीज्ञ समुह बनाउने प्रस्तावलाई नेपाली कांग्रेसले अस्वीकार गर्ने क्रम जारी छ।

तर संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले मंगलबारको वैठकपछि वीज्ञ समुह बनाउने विषयमा सहमति जुट्ने संभावना बढेको बताए।

आशंकाहरु

संवैधानिक समितिको वैठकमा प्रधानमन्त्री भट्टराई, संविधान निर्माणबारेका विवाद समाधान गर्न गठित उपसमितिका संयोजक समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड र अन्य दलका वरिष्ठ नेताहरु सहभागी थिए।

वरिष्ठ नेताहरुको बाक्लो उपस्थिति रहेपनि समितिको वैठकले राज्य पुन:संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रस्तावना आदी विषयहरुसंग संम्वन्धित विवादहरुको निप्टारा गर्ने कुनै मार्गचित्र दिन सकेन।

त्यसले फेरि शान्ति र संविधान निर्माणको काम सहजै अघि नबढ्ला की भन्ने आशंकाहरुलाई बल पुर्‍याएको छ।