भट्टराईको मन्त्रिमण्डल फेरि विस्तार, तर अझै अप‍ूर्ण

  • 15 सेप्टेम्बर 2011
मोहन वैद्य
Image caption मोहन वैद्य पक्ष माओवादीको संस्थापन पक्षको निर्णयको विरुद्ध खरो उत्रिएको देखिन्छ

प्रधानमन्त्रीले एकीकृत माओवादीका तर्फबाट दुई जना र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट चार जना गरि जम्मा छ जनालाई मन्त्रिमण्डलमा समावेस गरेका छन्।

नवनियुक्त मन्त्रिहरुलाई प्रधानमन्त्रीले बिहिबारै पद तथा गोपनियताको सपथ दिलाएका थिए।

यो विस्तार संगै भट्टराई नेतृत्वको मन्त्रिमण्डल २१ सदस्सीय भएको छ।

पार्टीभित्र संस्थापन पक्षले तराई केन्द्रित दलहरुको मोर्चा संग गरेको चार बुँदे सहमति र माओवादि हतियारको कन्टेनरहरुको साँचो विशेष समितिलाई बुझाएको प्रति असन्तुष्टी देखाइरहेको मोहन वैद्य किरण समुह बिहिबार पनि मन्त्रिमण्डलमा सहभागी भएन।

कार्यभार

तर प्रधानमन्त्री भट्टराईले माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड खेमाका मानिने लेखराज भट्टलाई बाणिज्य तथा आप‍ूर्ती र गोपाल किराँतीलाई संघीय मामिला संविधान सभा र संस्कृती मन्त्रालयको कार्यभार सुम्पदै मन्त्रिमण्डल विस्तार गरेका छन्।

त्यस्तै संयुक्त लोकतान्त्रिम मधेसी मोर्चाका तर्फबाट फोरम लोकतान्त्रिकका शरतसिंह भण्डारीले रक्षा, हेमराज तातेडले वातावरण मन्त्रालय पाएका छन्।

मोर्चामै आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका ब्रजेशकुमार गुप्ताले कान‍ून र संघिय सदभावना पार्टीका अनिलकुमार झाले उद्योग मन्त्रालयको सपथ लिएका छन्।

झण्डै तीन साता अघि प्रधानमन्त्री चुनिएका भट्टराईले सानो आकारको मन्त्रिमण्डल बनाउने बताएका थिए।

तर उनका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलका अनुसार गठबन्धनमा आवद्ध साना दलहरुलाई समेत समावेस गर्दा मन्त्रिमण्डल थोरै ठ‍ूलो आकारको बन्न पनि सक्छ।

“पहिला मन्त्रिमण्डलमा २८ जना सहभागी गराउने कुरा थियो, तर साना दलहरुलाई समेत सहभागी गराउदा राज्य मन्त्रीहरु थपिन सक्छन्।”

उपप्रधानमन्त्रीहरु

पौडेलको भनाइमा असोजको दोस्रो साता बस्ने माओवादीको केन्द्रिय समितिको वैठकपछि असन्तुष्ट वैद्य पक्षबाट पनि मन्त्रिमण्डलमा सहभागिता हुन सक्छ।

आज मन्त्रिमण्डल विस्तार हुनु अघि माओवादी र मोर्चा बाहिर रहेको मधेसी जनअधिकार फोरम नेपालबीच वार्ता भएको थियो।

फोरम नेपालका उपेन्द्र यादवले पनि उपप्रधानमन्त्री पद दावि गरेकोले विस्तारमा उनको दललाई समेट्न नसकिएको बुझिएको छ।

भट्टराई नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छेदार र माओवादीका नारायण काजी श्रेष्ठ सहित दुई जना उपप्रधान मन्त्री सहभागी भइसकेका छन्।

केही समय अघि माओवादीको वैद्य पक्षबाट सीपी गजुरेल पनि उपप्रधानमन्त्री पदको दावेदार भएको चर्चा चुलिएको थियो।

तर पार्टीभित्रका विवाद नसेलाएकोले वैद्य पक्ष मन्त्रिमण्डलमा गएको छैन।