प्रधानमन्त्रीद्वारा विपक्षी दलहरुसंग सहमतिको लागि आग्रह

  • 16 सेप्टेम्बर 2011
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल
Image caption विपक्षी नेता पौडेलले प्रधानमन्त्रीको सम्बोधनप्रति कडा असन्तुष्टि जनाएका छन्

शुक्रबार बिहान अकस्मात संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजनको लागि अहिले पुनर्स्थापना प्याकेजमा सहमति गरी पुनर्वर्गीकरणमा लागिहाल्ने आफ्नो तयारीप्रति विपक्षी दलहरुसंग सहयोग मागेका छन्।

उनी नेतृत्वको सरकार गठन भएलगत्तै हतियार कन्टेनरको साँचो बुझाइएपछि सेना समायोजनको प्रक्रिया केही शिथिल भएको आरोप लागेको बेला उनले अनावश्यक शंका नगर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन्।

खासगरी प्रमुख विपक्षी नेपाली कांग्रेसले समायोजनको खाका, तौरतरीका सबै विषयमा सहमति नगरी पुनर्वगीकरणमात्रै गर्न नहुने बताइ आएको छ।

दबाब

आउने साता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने तयारीमा रहेका प्रधानमन्त्री भट्टराईलाई त्यस अगावै शान्ति प्रक्रियामा कुनै ठोस प्रगति गरेर देखाउने तीव्र दबाब छ।

प्रधानमन्त्री भएपछि संसदलाई आफ्नो पहिलो सम्बोधन गर्ने क्रममा उनमा त्यही दबाब झल्कियो।

अनावश्यक शंकाले लंका जलाउँछ भन्दै उनले विपक्षी दलहरुलाई मिल्न सक्ने कुरो मिलाइहालेर अगाडि बढ्न आव्हान गरे।

“सेना समायोजनबारे कि त सबै कुरामा सहमति एकमुष्ट खोज्ने कि त केही नगरी बस्ने प्रवृत्ति ठिक होइन। सहमति भएका कुरा कार्यान्वयन गर्दै जाने र बाँकी कुरामा सहमति खोज्दै जाने नै ठिक तरीका हो। कमसेकम समायोजनको मोडालिटि बारे पुनर्स्थापनामा जानेको प्याकेज र समायोजन हुनेको मोटामोटी संख्या तोकेर पुनर्वर्गीकरणमा जान सकिन्छ,” भट्टराईले भने।

आफ्नो सरकारप्रति जनताले निकै आशा गरेको भन्दै उनले खाद्य गुणस्तर नियन्त्रण जस्ता सरकारका शुरुवाती अभियानलाई फिल्मको ट्रेलर मात्रै भएको बताए।

चेतावनी

आफ्नो खास अभियानचाहीं शान्ति प्रक्रिया र संविधान निर्माणनै रहेको जनाउँदै उनले आफ्नो सरकार विफल भए शान्ति प्रक्रियानै विफल हुनसक्ने चेतावनी दिए।

त्यसको लागि आउने अढाई महिना नेपालको लोकतान्त्रिक इतिहासमै ‘सम्भवत सबभन्दा रोमाञ्चकारी र निर्णायक दिनहरु’ रहने उनको भनाई थियो।

“या त हामीले यसबीचमा शान्ति प्रक्रियालाई सार्थक निश्कर्षमा पुर्‍याउनुका साथसाथै संविधानसभा मार्फत अग्रगामी संविधानको निर्माण गरेर समग्र समाजको अग्रगमनको ढोका खोल्ने छौं. या त यी दुवै प्रक्रिया भंग भएर देश पुन भयंकर द्वन्द्वको दुष्चक्रमा फँस्नेछ। अरु कुनै तेस्रो संभावना छँदै छैन भने हुन्छ,” उनले भने।

आधा घण्टा लामो सम्बोधनमा पटक पटक तीव्र आर्थिक वृद्धिको आवश्यकता औंल्याएका प्रधानमन्त्रीले शान्ति प्रक्रिया, संविधान निर्माण तथा जनताको आशा पूरा गर्ने काम आफ्नो निम्ति तीनवटा पहाड भएको बताएका थिए।

ती प्रत्येक पहाड सरकार एक्लैले चढ्न नसक्ने भन्दै सहयोगकोलागि अन्य दलहरुसंग आफुले हात फैलाएको जनाए।

तर प्रमुख विपक्षी नेपाली कांग्रेसले भने उनको सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेको छ।

“समायोजनको स्पष्ट खाका, दर्जा निर्धारण जस्ता कुराहरु पहिलेनै नटुंग्याए फेरि जटिलता हुन्छ। माओवादीले साँच्चिकै चाहने हो भने यी सबै कुरामा सहमति गरेर पुनर्वर्गीकरण गरे भइहाल्छ,” कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने।

विपक्षी दलहरुले असहयोग गरेको आरोपको उनले खण्डन गरे।