भुईंचालोपछि उद्वार तथा राहतमा तीव्रता

  • 19 सेप्टेम्बर 2011
भूकम्पपछि धरानमा गएको पहिरो तस्वीर कपीराइट bbc
Image caption भुईंचालोपछि कोशी राजमार्गमा आएको पहिरोले यातायात अवरुद्ध पारेको छ

भुईंचालो गएको २४ घण्टा वितेपछि सरकारको ध्यान अब राहत तथा उद्वारलाई तीव्र पार्नेपट्टि गएको अधिकारीहरुले बताएका छन्।

सोमबार गृह मन्त्रालयमा बसेको केन्द्रिय दैवी प्रकोप उद्वार समितिको बैठकले मृतकका परिवारलाई तत्काल जनही पच्चीस हजार रुपियाँ दिने तथा थप एक लाख दिन सिफारिस गर्ने निर्णय गर्‍यो।

निजी घरहरुमा भएका क्षतिको पनि राहत रकम तीन दिन भित्र दिइसक्ने निर्णय समितिले गरेको छ।

सो बैठकमा सहभागी गृह मन्त्रालय अन्तर्गत विपद व्यवस्थापन हेर्ने जिम्मा पाएका सहसचिव शंकर कोइरालाले भने, “हामीले आईतबारदेखि जिल्ला दैवी प्रकोप उद्धार समितिहरुलाई सक्रिय बनाएका छौं। सुरक्षाकर्मीहरुलाई उद्वार र राहतको कार्य सञ्चालनमा लगाएका छौं। साथसाथै नेपाल रेडक्रस सोसाईटीसंगपनि हामीले समन्वय गरेका छौं।”

क्षति

अहिलेसम्म ६ जनाको ज्यान लिएको भुईंचालोबाट सयभन्दा बढी घाइते भएका तथा देशभर ३०० भन्दा बढी घरहरु पूर्ण वा आंशिक भत्किएका अधिकारीहरुले बताएका छन्।

शक्तिशाली भनिएको ६.९ रिख्टर स्केलको भूकम्पको धक्का आइतबार सांझ देशैभरि अनुभव गरिएपनि त्यसले २२ वटा जिल्लाहरु बढी प्रभावित भएको जनाइएको छ।

काठमाण्डौंमा लैनचौरस्थित ब्रिटिश दूतावासको पर्खाल भत्किंदा ३ जनाको ज्यान गएको छ भने पूर्वको धरानमा दुई जना र संखुवासभा जिल्लामा एक जनाको मृत्यु भएको छ।

उक्त भुईंचालोकै कारण पूर्वी नेपालको धरानस्थित कोशी राजमार्गमा ठूल्ठूला पहिरा गएपछि आवत जावत ठप्प भएको छ। त्यहाँ करीब ८० मीटर सडक भत्किएको बताइएको छ।

तर प्रभावित जिल्लाहरु पहाडी इलाका र कतिपय दुर्गम समेत भएकाले भुईंचालोले पुर्‍याएको नोक्सानीका थप विवरण आउने सम्भावना अझै रहेको अधिकारीहरुले औंल्याएका छन्।

“अब थप मानवीय क्षतिको सम्भावनाचाहिं म देख्दिनं। तर पूर्वी पहाडका ताप्लेजुङ्ग, पाँचथर, इलाम, धनकुटा, ओखलढुंगा, संखुवासभा तथा भोजपुर जिल्लातिर भौतिक क्षतिको परिमाण बढ्ने सम्भावना छ,” कोइरालाले बताए।

गृह मन्त्रालयका अधिकारीहरुले मंगलबारसम्ममा भूकम्पबाट भएका क्षतिहरुबारे पूर्ण विवरण प्राप्त भइसक्ने आफुहरुले आशा गरेको बताए।