सरकार धरमराएको छैन: माओवादी नेताहरु

  • 23 सेप्टेम्बर 2011
maoists party nepal
Image caption आफुहरुबीचको मतभेदले सरकार नढल्ने माओवादी नेताहरुले बताएका छन्

बाबुराम भट्टराईको नेतृत्वमा सरकार बने लगत्तै देखि माओवादी भित्रकै ठूलो हिस्साले निरन्तर विरोध गरेकाले सरकारको आधार डगमगाएको अनुमान चलिरहे पनि त्यस्तो अवस्था आइनसकेको माओवादी नेताहरुले बताएका छन्।

विरोधका विभिन्न कार्यक्रम गरेपनि आफुहरु छलफल गरेर समस्या समाधान गर्ने ध्याउन्नमै रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार भेटवार्ता गरेका उपाध्यक्ष मोहन बैद्यले बताए।

बाबुराम भट्टराईले प्रधानमन्त्री बनेको तेश्रोदिन लडाकु व्यवस्थापन गर्ने विशेष समितिलाई कन्टेनरका चावी बुझाए लगत्तै बैद्य पक्षधरले चर्को विरोध शुरु गरेका थिए।

शुक्रबार अध्यक्ष प्रचण्डले उपाध्यक्ष बैद्यसँग राजधानीमा गत बुधबार सम्पन्न बैद्य पक्षीय कार्यकर्ताहरुको अन्तरक्रियाबारे प्रश्न सोधेका थिए।

समाधान

आफुहरुबीच सँधै मतभेद रहेको भन्दै बैद्यले छलफलबाट समाधान खोज्नेबारे अध्यक्षसँग कुराकानी भएको बताए।

बैद्य भन्छन्, "हामीबीच अन्तरविरोध छ तर त्यसलाई हामी छलफलबाटै समाधान खोज्छौं।"

मशाल जुलुश, चक्का जाम देखि देशभरका कार्यकर्ता बोलाएर अन्तरक्रिया समेत गरेर निरन्तर विरोध गर्दै आएको वैद्य पक्षले बिहीबार संसदमा कब्जा गरेका जग्गा फिर्ता गर्ने सरकारी अल्टिमेटमको चर्को विरोध गरेको थियो।

निरन्तर प्रहारमा परेको भट्टराई सरकारको आधार डगमगाएको हो त?

भागबण्डा

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, "एउटा पक्षले विरोध देखाए पनि धेरै जना सरकारको पक्षमा छन्। त्यसैले आन्तरिक विरोधले सरकार डगमगाउँछ जस्तो लाग्दैन।"

माओवादीका गतिविधिमाथि रिपोर्टिङ गरिरहेका पत्रकार उजीर मगरले माओवादीभित्रको झगडा सरकार धरमराउने किसिमको नरहेको बताए।

उनले भने, "यो अलिकति पार्टी पद्धतिका निम्ति र अलिकति भागबण्डाका लागि भएको झगडा हो।"

सरकार बलियो या कमजोर जे भएपनि माओवादीमा देखिएको आन्तरिक कलहले शान्ति प्रक्रिया र संविधान निर्माणलाई भने निश्चित रुपमा विलम्ब गराएको छ।