यो वर्ष पनि हिउँदमा १४ घन्टा लोडशेडिङ

  • 24 सेप्टेम्बर 2011
electricity transmission lines तस्वीर कपीराइट AP
Image caption माग भन्दा उत्पादन आधा कम भएकाले हिउँदमा चर्को लोडशेडिङ हुनेछ

गत वर्ष झैं यस वर्ष पनि जाडो याममा कम्तिमा दिनको १४ घन्टा बीजुली काटिने नेपाल विद्युत प्राधिकरणले बताएको छ।

मागभन्दा आधाजसो मात्रै बिजुली उत्पादन भएकाले यस वर्ष पनि चर्को लोडशेडिङ हुने भएको हो।

बिजुली अड्डाका अधिकारीहरु यसपालीको हिउँदमा लोडशेडिङ दैनिक १४ घन्टा भन्दा बढि नपुर्‍याउन भरमग्दुर प्रयास गरिरहेको बताउँछन्।

अस्थीर राजनीतिको छायाँमा परिरहने हो भने सँधैभरी नेपालीहरुले चिसो हिउँद अध्याँरोमै विताउनुपर्ने बाध्यता रहेको निजी लगानीकर्ताहरुको आरोप छ।

गृहकार्य

गत वर्ष औपचारिक रुपमा १४ घन्टा लोडशेडिङ घोषणा गरिएको भएपनि अघोषित रुपमा १६ घन्टासम्म लोडशेडिङ भएको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु नै बताउँछन्।

प्राधिकरणका प्रणाली सन्चालन विभागका निर्देशक चिरन्जीवी शर्मा यस वर्ष दिनको १४ घन्टा भन्दा बढि नपुर्‍याउन गृहकार्य भइरहेको बताउँछन्।

उनी भन्छन्, "थर्मल प्लान्ट प्रयोग गरेर, भारतबाट बिजुली आयात गरेर, सीएफएल चिमको प्रयोग बढाएर भएपनि बिद्युत आपूर्तिको समस्या कम गराउने प्रयत्नमा छौं।"

बिजुलीको अत्यधिक खपत हुने समय साँझमा ९५० मेगावाट हाराहारीको माग भएपनि उत्पादन झण्डै आधा कम ५०० मेगावाट जति हुने गर्छ।

माग

हरेक वर्ष १० प्रतिशतले माग बढ्ने हुनाले १०० मेगावाट बिजुली वर्षेनी थप्नुपर्ने हुन्छ तर सानातिना फाट‍टफुट्ट बाहेक तत्काल देशभित्रबाटै राष्ट्रिय प्रसारणमा बिजुली थपिने देखिन्न।

बिजुली उत्पादनमा संलग्न निजी लगानीकिर्ताहरु सरकारबाट धेरै सहुलियतको आशामा देखिन्छन्।

नेपाल उद्योग वाणिज्य महासंघमा उर्जा समितिका सभापति तथा जलविद्युतमा एकजना निजी लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान भन्छन्, "बिजुली उत्पादनमा निजी क्षेत्र नआइ लोडशेडिङ हट्दैन तर सरकारले हामीलाई सहुलियत दिन नचाहेपछि कसरी आउँछ निजी क्षेत्र?"

दावी

भनेजस्तो सहुलियत पाए निजी क्षेत्रले चार वर्षमै लोडशेडिङ हटाइदिने दावी प्रधानको छ।

प्राधिकरणको तत्कालको ध्यानचाहिँ लोडशेडिङलाई पोहोरभन्दा बढ्न नदिनुमा केन्द्रित देखिन्छ।

कैयौं वर्षपछि टन्न भरिएको कुलेखानी र भारतबाट थप बिजुली ल्याउने मात्र होइन थर्मल प्लान्ट सन्चालन गरेर भएपनि लोडशेडिङ नियन्त्रण गरिने बताइएको छ।