नेपालको जनसंख्या २ करोड ६६ लाख

  • 27 सेप्टेम्बर 2011
नेपाली जनताहरु तस्वीर कपीराइट CBI Nepal
Image caption यसपालीको जनगणनाले जनसंख्या वृद्धीदर घटेको देखाएको छ

गत असारमा गरिएको जनगणनाको नतिजा अनुसार नेपालको जनसंख्या बृद्धीदर २ दशमलव २५ प्रतिशतबाट १ दशमलव ४० प्रतिशतमा झरेको छ।

जनगणनाको बेला अनुपस्थित अर्थात विदेशिएका १९ लाख भन्दा बढी कुल जनसंख्यामा जोडिएको छैन।

नतिजा अनुसार ग्रामिणको तुलनामा शहरी क्षेत्र र पहाडको तुलनामा तराई क्षेत्रको जनसंख्या बढेको देखिएको छ।

नेपालमा जनगणना प्रारम्भ भएको एक सय वर्ष पछि गरिएको एघारौं राष्ट्रिय जनगणनाबाट केही अनौठा तथ्याङ्कहरु बाहिर आएका छन्।

घट्दो बृद्धीदर

केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ।

त्यो संख्या २०५८ सालको जनगणनाको भन्दा १५ प्रतिशतले बढी हो।

तर बृद्धीदर घट्नुक कारण के होला?

विभागका महानिर्देशक उत्तम नारायण मल्लले भने, “गएको दश वर्षमा धेरै युवाहरु देश बाहिर गएकोले जनसंख्या बृद्धीदर घटेको हुनसक्छ।”

पछिल्लो विवरण अनुसार १९ लाख भन्दा बढी जनसंख्या अनुपस्थित रहेको अर्थात रोजगारी वा शिक्षाको लागि विदेसिएका छन्।

त्यस्तै परिवारहरुको संख्या ४८ लाख पुगेको तर परिवारको आकार उल्लेख्य रुपमा घटेको देखिएको छ।

कुल जनसंख्यामा पुरुषको संख्या ४८ प्रतिशत र महिलाको संख्या ५१ प्रतिशत देखिएको छ।

जनसंख्याको वितरण

विकास क्षेत्रगत विश्लेषण अनुसार सबै भन्दा धेरै जनसंख्या मध्यमाञ्चलमा र सबैभन्दा कम सुदूर पश्चिमाञ्चलमा रहेको छ।

जिल्लाहरु मध्ये सबै भन्दा बढी जनसंख्या काठमाण्डूमा र सबै भन्दा कम मनाङमा रहेको छ।

शहरी जनसंख्या बढेर १७ प्रतिशत पुगेको र ग्रामिण जनसंख्या ८३ प्रतिशतमा झरेको प्रारम्भिक नतिजाले देखाएको छ।

त्यस्तै जनसंख्या पहाडमा घटिरहेको र तराईमा देशको आधा भन्दा बढी रहेको पाइएको छ।

चिन्ता

पछिल्लो जनगणना अनुसार काठमाण्डू उपत्यकाका तीन जिल्लाको जनसंख्या दश वर्ष अघिको भन्दा ९ लाखले बढेर २५ लाख पुगेको छ।

जनगणनाको विस्तृत नतिजा एक वर्ष पछि आउने अधिकारीहरुको भनाई छ।

पछिल्लो नतिजाले जनसंख्या नियन्त्रण हुन थालेको देखाए पनि खास गरि पहाडी क्षेत्रमा घट्दो जनसंख्याले श्रम शक्तीको संकट बढाउने र दूरगामी आर्थिक सामाजिक समस्या निम्त्याउन सक्छ भन्ने कतिपय अधिकारीहरुको चिन्ता छ।