कांग्रेस झगडा मिलाउन मध्यमार्गी सक्रिय

  • 29 सेप्टेम्बर 2011
nepali congress
Image caption झगडा मिलाउन मध्यमार्गीहरु सक्रिय छन्

नेपाली कांग्रेस केन्द्रीय समितिबाट बरिष्ठ नेता शेरबहादुर देउवाले बुधबार हठात राजीनामा दिएपछि सभापति सुशील कोइराला झगडा मत्थर बनाउने प्रयत्नमा लागेका छन्।

बहुमतका आधारमा संस्थापन पक्षले चार भातृ संगठनहरु विघटन गरेपछि चर्केको झगडामा दुवै पक्षले आ आफ्ना अडान अहिलेसम्म छोडेका छैनन्।

फुट र जुटको अनुभव भोगिसकेका कारण फुटतिर भन्दा दुवै पक्षको जोड जुटतिरै रहेको छ।

प्रजातान्त्रिक पार्टीमा बहुमतको कदर हुनुपर्छ भन्दै भ्रातृ संगठन विघटन गर्ने निर्णयमा अडिग रहेका कांग्रेस सभापति सुशील कोइरालाले देउवाको राजीनामामाथि उत्पन्न परिस्थितिबारे संस्थापन पक्षका नेताहरुसँग बिहीबार आफ्नै निवासमा छलफल गरेका थिए।

देउवासँग छलफल गरेर मिलेरै जानुपर्ने अधिकांश नेताहरुको राय आएपछि सभापति कोइराला केही नरम भएको हुनसक्ने संकेत पार्टी उपसभापति रामचन्द्र पौडेलले गरे।

पौडेलले भने, "दबाबको भरमा अहिले गर्दा पछि अप्ठ्यारो पर्न सक्छ, तर अब उदारतापूर्वक जानुपर्छ, लचिलो भएरै जानुपर्छ भन्ने उहाँको कुरा थियो।"

बिहीबारै राजीनामा पछिको उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे देउवा निवासमा अर्को भेला गरिएको थियो।

भेलाका सहभागी कांग्रेस केन्द्रीय सदस्य एन पी सावदले भने,"राजीनामा पछि पार्टी सभापतिले कसरी संबोधन गर्नुहुन्छ, उहाँले सबैलाई समेट्न सक्नुहुन्छ कि हुन्न, उहाँको आगामी दिनका पहलकदमीले ज्यादा महत्व राख्छ।"

महाधिवेशन नगराइ भ्रातृ संगठन विघटन गर्न नपाइने भन्दै आएका बरिष्ठ नेता देउवाले असन्तुष्टिको सिलसिलामा केन्द्रीय कार्य समितिको सदस्य पदबाट राजीनामा दिएका थिए।

झगडा मिलाउन मध्यमार्गीहरु सक्रिय रहँदै आएका छन्।