शान्ति र संविधानलाई तीब्रता : माओवादी

  • 2 अक्टोबर 2011
maoist party office
Image caption बैठकले शान्ति र संविधानलाई तीब्रता दिने निर्णय गरेको थियो

सरकारका गतिविधिको चर्को विरोध गरिरहेको पार्टीभित्रको एउटा धारले आइतबार डाकिएको स्थायी समिति बैठक बहिस्कार गरेपनि एकीकृत माओवादीले शान्ति र संविधानको कामलाई तीब्रता दिने निर्णय गरेको छ।

बरिष्ठ उपाध्यक्ष मोहन बैद्य लगायत चार सदस्य अनुपस्थित रहेको बैठकले शान्ति र संविधान बारे यस अघिका केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल अगाडि बढाउने निर्णय गरेको सहभागी नेताहरुले बताएका छन्।

उपाध्यक्ष मोहन बैद्य सहित चार जना अनुपस्थित रहेपछि अनौपचारिकमा परिणत भएको स्थायी समिति बैठकले शान्ति र संविधानबारे यस अघि केन्द्रीय समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्न प्रचण्डले पहल गर्ने निर्णय गरेको थियो।

पहल

बैठकमा सहभागी स्थायी समिति सदस्य तथा मन्त्री टोपबहादुर रायमाझीले भने, "सेना समायोजन सहित शान्ति प्रक्रियालाई अगाडि बढाउन र संविधानको मस्यौदा लेखनको कामकलाई अध्यक्ष प्रचण्डले तीब्रता दिन पहल गर्ने सहमति भयो।"

बैठकमा महासचिव रामबहादुर थापा नेत्र विक्रम चन्द र देव गुरुङ पनि अनुपस्थित थिए।

बाबुराम भट्टराइको सरकार बने लगत्तै कन्टेनरको चावी विशेष समितिलाई बुझाउने निर्णय पछि चर्को असन्तुष्टी देखाएको बैद्य पक्षधरले विवादमाथि छलफल गर्न केन्द्रीय समिति बैठकको माग गर्दै आएको छ।

चावी बुझाउने निर्णय लगत्तै बसेको बैठक पनि बैद्य पक्षधरले बहिस्कार गरेको थियो।

असन्तुष्टी

मिति तय गरेर पनि पटक पटक सारिएको केन्द्रीय समितिको बैठक तिहार पछि मात्रै बस्ने रायमाझीले बताए।

पछिल्लो समयमा सरकार बनाउँदा तराइ केन्द्रीत दलहरुको मोर्चासँग भएको चारबुँदे सहमति राष्ट्रघाती भन्दै वैद्य पक्षधरले सडकमा असन्तुष्टि पोख्दै आएको छ।

सरकारमा समेत सहभागी नरहेको बैद्य पक्षधरका कतिपय नेताले पार्टीमा विभाजनको संभावना समेत औंल्याउँदै आएका छन्।