'शान्ति प्रक्रिया टुंग्याउने ठोस कार्ययोजना दशैंपछि'

  • 5 अक्टोबर 2011
माओवादी पूर्वलडाकू तस्वीर कपीराइट .
Image caption लडाकूहरुको भविष्यबारे प्रमुख दलहरुबीच सहमति हुन सकेको छैन

दशैं सम्ममा शान्ति प्रक्रिया टुंग्याउने विषयमा सहमति जुटाउन विफल भएपछि प्रधानमन्त्री बाबुराम भट‍्टराईले दशैं लगत्तै शान्ति प्रक्रियाबारे ठोस कार्ययोजना ल्याउने तयारी थालेका छन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठका अनुसार सो कार्ययोजनाले शान्ति प्रक्रिया टुंग्याउदै नयाँ संविधान बनाउने नयाँ मार्गचित्र प्रस्तुत गर्ने छ।

तर प्रतिपक्षी दलहरुको विश्वास जित्न नसके त्यो कार्ययोजना पनि कार्यान्वयन हुने कुरामा आशंकाहरु कायमै छन्।

दशैं अघि पटक पटक बैठक गरेका प्रमुख सत्ताधारी एकीकृत माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले दशैं सम्ममा शान्ति प्रक्रियाबारे प्रमुख दलहरुबीच सहमति हुने आशा व्यक्त गरेका थिए।

थाँती

त्यो संभव नभएपछि प्रधानमन्त्री भट्टराईले सबै थाँती कामहरु टुंग्याउन दशैंपछि नयाँ कार्ययोजना ल्याउने तयारी गरिरहेको जानकारी श्रेष्ठले दिए।

“पूर्व लडाकूहरुको समायोजन र पुन:स्थापना कार्यलाई टुंग्याउने गरि दशैं पछि एउटा कार्ययोजना ल्याउन प्रधानमन्त्रीले इमान्दार प्रयत्न गरिरहनु भएको छ।”

भट्टराई प्रधानमन्त्री चुनिनुअघि माओवादीले आफ्नो नेतृत्वमा सरकार बने ४५ दिनभित्र शान्ति पक्रियाको एउटा महत्वपूर्ण काम समायोजन र पुन:स्थापनामा जाने माओवादी पूर्व लडाकूहरुको पुन:वर्गीकरण सिध्याउने प्रस्ताव गरेको थियो।

तर माओवादी भित्रकै किचलो र प्रमुख प्रतिपक्षीदलहरुको असन्तुष्टिका माझ न त माओवादी सेना समायोजन विशेष समितिमा कुनै प्रगति भयो, न त प्रमुख दलहरुका शीर्षस्थ नेताहरुबीच नै कुनै सहमति भयो।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठका विचारमा नेपाली कांग्रेसका नेताहरुले ‘प्याकेज’मा सहमति खोजेकाले सहमति पर धकेलिएको हो।

‘बाधक’

तर नेपाली कांग्रेसले माओवादीनै सहमतिको बाधक भएको बताउँदै आएको छ।

नेपाली कांग्रेसका सभापति र माओवादी अध्यक्षबीचको पछिल्लो वैठकमा कांग्रेसले माओवादीलाई माओवादी पूर्व लडाकूहरुको समायोजन र पुन:स्थापनाका विषयमा थप प्रष्ट हुन आग्रह गरेको थियो।

कांग्रेस र अन्य प्रतिपक्षी दलहरुले माओवादीलाई कब्जा सम्पत्ती फिर्ता गर्ने, वाइसीएलको सैन्य संरचना खारेज गर्ने जस्ता पुराना सहमति अक्षरस कार्यान्वयन गर्न समते दबाब दिइरहेको छ।

तर आन्तरिक खेमाहरु बीचका खटपटबाट मुक्त हुन नसकेको माओवादी दलले शान्ति प्रक्रियाका सहयात्री दलहरुलाई आफू विद्रोही अवस्थाबाट पूर्णतया रुपान्तरित भएको देखाउन सकेको छैन।

त्यस्को सीधा असर पाँच वर्ष देखि घिस्रीरहेको शान्ति पक्रियामा पर्ने क्रम जारी छ।