विवाद भएपनि प्रशिक्षण कार्यक्रम यथावत: माओवादी प्रवक्ता

  • 9 अक्टोबर 2011
माओवादी नेताहरु बाबुराम भट्टराई, प्रचण्ड र मोहन वैद्य
Image caption प्रधानमन्त्री भट्टराई र अध्यक्ष प्रचण्ड एकातिर र उपाध्यक्ष वैद्य अर्कोतिर छन्

पार्टिले डाकेको राष्ट्रिय प्रशिक्षण कार्यक्रम असन्तुष्ट पक्षहरुले बहिष्कार गरेपनि अघि बढ्ने एकीकृत नेकपा माओवादीका प्रवक्ताले जनाएका छन्।

पार्टिभित्रको विवाद सुल्झाउन केन्द्रिय समितिको बैठक डाक्नुको साटो प्रशिक्षण कार्यक्रम राखेको भन्दै रिसाएका असन्तुष्ट पक्षहरुले छुट्टै प्रशिक्षण कार्यक्रम राख्ने बताएका छन्।

क्रुद्ध

आन्तरिक कलह बढ्दै गएपछि त्यसलाई साम्य पार्न असोज १३ गतेका लागि डाकिएको केन्द्रिय समितिको बैठक चाडबाडका कारण स्थगित गरिएको थियो।

तर त्यसपछि नयाँ मिति तोक्नुको साटो पार्टिले असोज २९ गते राष्ट्रिय कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तोक्यो।

त्यसबाट क्रुद्ध उपाध्यक्ष वैद्य पक्षधरहरुले त्यसको बहिष्कार गर्ने मात्र होइन छुट्टै भेला गर्ने बताए।

असन्तुष्टहरुको सो चेतावनीपछिपनि पार्टिको कार्यक्रम यथावत रहेको प्रवक्ता दिनानाथ शर्माले बताएका छन्।

उनले असन्तुष्ट पक्षहरुले आव्हान गरेको भनिएको छुट्टै भेला अवैधानिक भएको समेत बताए।

“वहाँहरुको पार्टि छुट्टै हो भने छुट्टै भेला गर्नु ठीक हो। होइन, यही पार्टि हो भने पार्टिका आधिकारिक निर्णयहरु मान्नु पर्‍यो। मान्दैनम्, बस्दैनम् भन्नुहुन्छ भने त्यस अनुसारकै फैसला गर्नु पर्‍यो,” शर्माले भने।

आगोमा घ्यू

विवाद चर्किएको बेला बुझाइमा एकरुपता कायम गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिन लागेको भन्दै केन्द्रिय समितिको बैठक टार्नको लागि त्यसो नगरिएको प्रवक्ता शर्माले बताए।

“समसामयिक राजनीतिक स्थिति तथा पार्टिको आन्तरीक अवस्थाबारे नेतृत्वले जानकारी दिने हो। बुझाईमा एकरुपता कायम गर्न र पार्टिलाई एक ढिक्का बनाइराख्न मात्रै यो केन्द्रित हुनेछ। अन्य कुनै सैद्धान्तिक वा राजनीतिक विषय वा विवादमा यो जाँदैन,” उनले बताए।

तर सो कार्यक्रमले माओवादी पार्टिमा भित्रभित्रै सल्किरहेको आगोमा घ्यू थप्ने विश्लेषण कतिपयको छ।

जसको कारण मंसिर १४ गते भित्र शान्ति प्रक्रियाका मूलभूत काम सिध्याएर संविधानको पहिलो मस्यौदा तयार पार्ने जिम्मा पूरा गर्न थप अप्ठेरो पर्न सक्छ।

माओवादी लडाकूका हतियार कन्टेनरका साँचो बुझाउने निर्णयका विरुद्ध सडक समेत तताएका माओवादीका असन्तुष्ट खेमाले खेल्ने भूमिकाले खासगरी सेना समायोजनको विषय कसरी सुल्झने भन्ने निर्धारण गर्न सक्छ।

माओवादी लडाकूहरुको हतियार कन्टेनरको साँचो हस्तान्तरण विवाद तथा शान्ति प्रक्रिया र संविधान निर्माणका कतिपय सवालहरुमा अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री बाबुराम भट्टराई एकातिर र पार्टि उपाध्यक्ष मोहन वैद्य तथा महासचिव रामबहादुर थापा अर्कोतिर छन्।