विपक्षीको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको वचन

  • 14 अक्टोबर 2011
संविधानसभा व्यवस्थापिका संसद
Image caption विवादित मन्त्रीले राजिनामा नदिँदासम्म संसद चल्न नदिने विपक्षीको अडान छ

अलग-अलग विवादमा फँसेका दुईजना मन्त्रीलाई बर्खास्त गर्न प्रतिपक्षीहरुले बढाइरहेको दबाबका माझ प्रधानमन्त्री बाबुराम भट्टराईले उक्त विवाद टुंग्याउने आश्वासन दिएका छन्।

नेकपा एमालेसँगको बैठकमा उनले त्यस्तो वचन दिएको जानकारी उपप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले दिएका हुन्।

रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभु साहको राजिनामा माग्दै एमाले र कांग्रेले बिहीबार संसद बैठक अवरुद्ध गरेका थिए।

राजिनामा नआउँदासम्म संसद चल्न नदिने उनीहरुको अडान छ।

सम्बोधन

मुख्य दलहरुबीच लगातार वार्ता र छलफल गर्ने क्रममा माओवादी र एमालेबीचको शीर्ष बैठक भएको थियो।

शान्ति प्रकृया र संविधान लेखनमा देखिएका वाधा पन्छाउन सहमति खोज्नु बैठकको उद्देश्य थियो।

तर एमालेले माओवादीको तर्फबाट नेतृत्व गरेर बैठकमा गएका प्रधानमन्त्री समक्ष शुरुमै दुईजना मन्त्रीहरुको राजिनामाको माग तेर्स्यायो।

माओवादी नेता तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार जवाफमा प्रधानमन्त्रीले उक्त विवाद टुंग्याउने आश्वासन दिए।

उनी भन्छन्, "प्रधानमन्त्रीले गम्भीर ध्यानाकर्षण भएको र सरकारले सकारात्मक ढंगले सम्बोधन र समाधान गर्ने आश्वासन दिनु भएको छ।"

बैठकमा सहभागी एमाले नेता भीम रावलले पनि प्रधानमन्त्रीले उक्त प्रकरण सम्बोधन गर्ने वचन दिएको बताए।

उनले भने, "हामीले यसलाई गम्भीर रुपमा लिएका छौं र सरकारले यो समस्यालाई सम्बोधन गर्ने गरी पाइला चाल्छ भनी आश्वासन दिनु भएको छ।"

अर्थ

प्रधानमन्त्रीले प्रतिपक्षी सामु 'सकारात्मक ढंगले विवादको समाधान गर्ने' आश्वासन दिनुलाई उनी विवादित मन्त्रीलाई राजिनामा गराउने वा हटाउने मनस्थितिमा रहेको अर्थ लगाउन सकिन्छ।

तर कहिले र कसरी उक्त विवाद निप्टाउँछन् भन्ने कुराको उनी आफैले कुनै संकेत दिएका छैनन्।

रक्षामन्त्रीको राजिनामाको पक्षमा देखिएको प्रधानमन्त्रीको दल माओवादीले आफ्नो दलका मन्त्रीको भने बचाउ गर्दै आएको छ।