गठबन्धन खतरामा परेको छैन: फोरम लोकतान्त्रिक

  • 15 अक्टोबर 2011
ministry building in nepal
Image caption रक्षामन्त्रीले राजीनामा दिनुपर्ने माग उठे पनि मधेशी मोर्चाले निर्णय गरिसकेको छैन

विवादमा परेका दुइ मन्त्रीहरुको विषय सहमतिबाटै टुंग्याउने प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।

चितवनमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले समाधानका लागि कुराकानी भइरहेको बताएको खबरहरु आएका छन्।

विवादमा परेका मधेशी मोर्चा सम्बद्ध मन्त्रीको पार्टीका महासचिव तथा प्रवक्ता जीतेन्द्र देवले पनि दुइ पार्टीका अध्यक्षबीच कुराकानी भइरहेको र सहमतिमै समाधान खोजिने बताएका छन्।

तर मोर्चा सम्बद्ध अन्य पार्टीका नेताहरुले आज माओवादी नेताहरुसँग भएको कुराकानीका अवसरमा रक्षामन्त्रीले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारेको सार्वजनिक गरेका छन्।

यसअघि मधेशका २२ जिल्ला छुट्टिनबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएका भनिएका रक्षा मन्त्री शरद सिंह भण्डारीले राजीनामा दिनुपर्ने एकीकृत माओवादी पार्टीले निर्णय गरेको थियो।

प्याकेज

माओवादीको निर्णयको आलोचना गरेको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले पनि विवादमा परेका दुवै मन्त्रीबारे प्याकेजमै समाधान खोजिने र गठबन्धन नटुटने जनाएको छ।

समाधान खोज्न गठबन्धन दलहरुबीच छलफल चलिरहेको फोरम लोकतान्त्रिकका प्रवक्ता जीतेन्द्र देव बताउँछन्।

उनी भन्छन्, “मन्त्री शरद भण्डारीले व्यक्त गरेको त राजनीतिक कुरा हो, उनीहरुको मन्त्री प्रभु शाह मुछिएको त झन गम्भीर कानुनी शासनको कुरा हो, दुवैको प्याकेजमै समाधान खोजिनुपर्छ।”

रक्षामन्त्री भण्डारीका भनाइहरु सार्वजनिक भए लगत्तै आलोचित हुन थालेपछि तराइ केन्द्रित दलका सबै नेताहरुले संयुक्त रुपमा प्रचण्डलाई भेटेका थिए।

आश्चर्य

त्यसबेला चित्त बुझाएका प्रचण्ड अहिले फेरि विपक्षमा उभिएकोमा फोरम आश्चर्यमा परेको प्रवक्ता देव बताउँछन्।

गठबन्धन दलबीच मनमुटाव रहेपनि माओवादी मधेशी मोर्चाबीचको गठबन्धन कुनै हालतमा नटुट्ने बताइएको छ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, विवादमा परेका मन्त्री भण्डारी स्वयंको दल एवं गठबन्धनको सबभन्दा ठूलो घटक फोरम लोकतान्त्रिकले गठबन्धन नटुटने भनेकाले सरकारमाथिको खतरा तत्काललाई घातक नहुन सक्छ।