रक्षा मन्त्री शरतसिंह भण्डारी पदमुक्त

  • 19 अक्टोबर 2011
शरतसिंह भण्डारी तस्वीर कपीराइट BBC Nepali
Image caption भण्डारीले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन्

तराई टुक्रिन सक्छ भन्ने अभिव्यक्ती दिएर विवादमा होमिएका रक्षा मन्त्री शरतसिंह भण्डारी पदमुक्त भएका छन्।

भण्डारीको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरे लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई पदमुक्त गरेका हुन्।

तर शरतसिंह भण्डारीले आफ्नो दलले गरेको निर्णय अस्वीकार गर्दै त्यसलाई चुनौति दिएका छन्।

रक्षा मन्त्री भण्डारी पदमुक्त भएसंगै प्रतिपक्षी दलहरुले अवरुद्ध गर्दै आएको संसदको कारवाही बुधबार सहज रुपमा अघि बढेको छ।

निर्णय

बिहिबार शुरु हुने आफ्नो औपचारिक भारत भ्रमणको पूर्व सन्ध्यामा संसदमा बोल्दै प्रधानमन्त्री भट्टराईले रक्षा मन्त्री भण्डारी र भुमिसुधार मन्त्री प्रभु शाहलाई हटाइएको औपचारिक जानकारी दिएका थिए। उनले भने, “वातावरणलाई सहज गराउनको निम्ति मैंले संविधानको धारा ३८ ग अनुसार संबन्धित दलको सिफारिसमा रक्षा मन्त्री शरतसिंह भण्डारी र भुमिसुधार मन्त्री प्रभु साहलाई हटाउने निर्णय गरेको छु।”

उनले मन्त्रीहरु बारेको विवादले शान्ति र संविधान निर्माणको काम प्रभावित भएको बताउँदै शान्ति र संविधानका बाँकी काम सिध्याउन सहमतिमा जोड दिएका थिए।

तर शरतसिंह भण्डारीले पत्रकारहरुसंग बोल्दै तराई टुक्रिन सक्छ भन्ने आफ्नो भनाइको अपव्याख्या भएको दोहोर्‍याएका थिए।

‘अन्याय’

“मलाई संसदमा समेत बोल्न नदिएर घोर अन्याय भएको छ।”, शरतसिंह भण्डारीले भने।

आफ्नो दलको निर्णय प्रति गम्भीर असन्तुष्टी व्यक्त गरे पनि उनले आफू फोरम लोकतान्त्रिक भित्रै रहने बताएका छन्।

हत्याको आरोप लागेका एकीकृत माओवादीका प्रभु साहले भने गत शनिबार नै मन्त्री पदबाट राजिनामा दिएका थिए।

अब रक्षा मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छेदारले, भुमीसुधार मन्त्रालयको कार्यभार स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीले र शिक्षा मन्त्रालयको कार्यभार उर्जा मन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने भएका छन्।