प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमण शुरु

  • 20 अक्टोबर 2011
बाबुराम भट्टराई तस्वीर कपीराइट Getty
Image caption प्रधानमन्त्रीको भ्रमणलाई दिल्लीमा निकै चासोका साथ हेरिएको बताइन्छ

प्रधानमन्त्री बाबुराम भट्टराई चार दिने औपचारिक भारत भ्रमण शुरु गर्दै बिहिबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

अपरान्ह दिल्ली पुगे लगत्तै प्रधानमन्त्री भट्टराई अनौपचारिक भेटघाटमा व्यस्त भए।

प्रधानमन्त्रीको यो भ्रमण आर्थिक मुद्दामा केन्द्रित हुने भनिएपनि भट्टराईको भ्रमणप्रति दिल्लीमा राजनीतिक चासो पनि उत्तिकै देखिन्छ।

नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया लगभग ठप्प भएकोप्रति भारतीय चिन्ता र चासो बढेको बेला भट्टराई दिल्ली पुगेका हुन्।

महत्वप‍ूर्ण भेटघाट

उनले शुक्रबार आफ्ना भारतीय समकक्षी मनमोहन सिंहसंग औपचारिक कुराकानी गर्ने र अन्य वरिष्ठ भारतीय अधिकारीहरुसंग भेट्ने कार्यक्रम छ।

दुई पक्षबीच लगानी प्रवर्द्धन तथा संरक्षण सहमति, दोहोरो कर हटाउने सहमति, र पूर्वघोषित २५ करोड डलरको सहुलियत दरको ऋण सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अधिकारीहरुले बताएका छन्।

बिहिबार पहिलो राजनीतिक भेटघाट उनले भारतीय कम्युनिष्ट पार्टीका महासचिव एबी बर्धनसंग गरे।

बिहिबारै उनी भारतीय नागरिक समाज र नेपालबारे चासो राख्ने भारतीय राजनीतिक दलहरुको एउटा संगठनले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी भए।

त्यहाँ बोल्दै उनले दक्षिण एसियामा सुधारिएको सहभागितात्मक लोकतन्त्रको आवश्यकतामा जोड दिए।

कम्युनिष्टहरुबारे टिप्पणी गर्दै उनले भने, “मार्क्सवादीहरु परिवर्तित परिस्थितिअनुसार व्यवहारिक बन्न सकेका छैनन्।”

कार्यक्रम

भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति प्रतिभा पाटील, उपराष्ट्रपति हमिद अन्सारी, सत्तारुढ कांग्रेस आईकी नेतृ सोनिया गान्धी, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा र अन्य वरिष्ठ भारतीय अधिकारीहरुसंग भेट्ने कार्यक्रम छ।

आफूले विद्यावारिधी उपाधी लिएको जवाहरलाल नेहरु विश्वविद्यालयमा पनि उनले बोल्ने कार्यक्रम छ।

नेपाल फर्कनु अघि उनको उत्तराखण्ड राज्यस्थित विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।