तिहारपछि शान्ति प्रक्रियामा सहमति हुने प्रधानमन्त्रीको भनाइ

  • 27 अक्टोबर 2011
वरिष्ठ माओवादी नेताहरु
Image caption लडाकू समायोजन तथा पुन:स्थापनाबारे माओवादी दल भित्र पनि तिब विवाद छ

एकीकृत माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुले माओवादी पूर्वलडाकूहरुको समायोजन तथा पुन:स्थापना कार्य अघि बढाउन गरेका पटक, पटकका वार्ता निश्कर्षविहिन रहेको बेला प्रधानमन्त्रीबाट नयाँ आश्वासन आएको छ।

उनको भनाइमा प्रमुख दलहरु सहमतिको नजिक छन्।

नेपाल संवत नयाँ वर्ष ११३२ को अवसरमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री भट‍्टराईले नेपाल संवत र राष्ट्रिय विभूती संखधर साख्वका महत्व र देनका विषय नेपाल भाषामैं चर्चा गरे।

साथै उनले जटिल राष्ट्रिय राजनीति पनि सकारात्मक परिणाम तर्फ उन्मुख रहेको बताए।

सहमतिको प्रयास

भट्टराईका अनुसार शान्ति प्रक्रियालाई टुङ्ग्याउन विषयमा प्रमुख दलहरुबीच तिहार सकिए लगत्तै सहमति हुन्छ।

"तपाईहरु ढुक्क हुनुहोस हामी तिहार पछि, छठ अघि नै शान्ति प्रक्रियाबारे दलहरुबीच महत्वपु्र्ण सहमति जुटाउदै छौं।"

१९ हजार माओवादी पूर्व लडाकूहरुको समायोजन तथा पुन:स्थापना कार्य अघि बढाउने लगायत समग्र विषयमा सहमति जुटाउन सत्तारुढ माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच दशैं अघि देखि नै छलफल चलिरहेका छन्।

दुई पक्षबीच बिहिबार सांझ पनि छलफल भएको थियो।

तैपनि त्यसबाट कांग्रेसले माग गर्दै आए झैं समग्र विषयमा सहमति हुने कुनै संकेत मिलेको थिएन।

प्रमुख दलहरुबीच समायोजन र पुन:स्थापनामा जाने पूर्व लडाकूहरुको संख्या, समायोजनको प्रारुप र पुन:स्थापनामा जानेहरुका लागि सरकारले दिने प्याकेजका विषयमा सहमति जुट्न बाँकी छ।

थाँती

प्रधानमन्त्रीका अनुसार त्यस विषयमा सहमति जुटाउन आगामी आइतबार प्रमुख दलहरुबीच छलफल हुने संभावना छ।

भदौ ११ गते भट्टराई प्रधानमन्त्री चुनिनु अघि माओवादीले आफ्नो दलको प्रधानमन्त्री चुनिएको डेड महिना भित्र पूर्व लडाकूहरुको पुन: वर्गीकरण थाल्ने प्रस्ताव ल्याएको थियो।

तर संविधान सभाको फेरि थपिएको तीन महिनाको म्याद सकिन पाँच हप्ता मात्र बाँकी छँदा सम्म त्यो विषय थाँती नै छ।

संविधान निर्माणसंग सम्वन्धित विवादहरु पनि ज्युँका त्युँ नै छन्।