संविधानसभाको म्याद फेरि थपिने प्रचण्डको संकेत

  • 28 अक्टोबर 2011
बाबुराम भट्टराई तस्वीर कपीराइट Getty
Image caption भट्टराईले तिहार लगत्तै शान्ति प्रक्रियामा सहमति हुने बताइसकेका छन्

प्रचण्डले सबैको सहमतिमा शान्ति प्रक्रियालाई टुङ्ग्याएर संविधान निर्माणबारेका विवादहरु हल गरेपछि मात्र संविधानसभाको म्याद फेरि थप्नु उचित हुने बताएका छन्।

संविधानसभाको तेस्रो पटक थपिएको म्याद सकिन लगभग एक महिना बाँकी छँदा प्रचण्डको नयाँ प्रस्ताव अगाडी आएको हो।

नेपाल संवत ११३२को अवसरमा आफैं निर्वाचित भएको क्षेत्र किर्तिपुरमा एक कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर १४ मा फेरि म्याद सकिन लागेको संविधानसभाको भविष्यको बारेमा मुख खोले।

“हामीले सेना समायोजन र पुन:स्थापनालाई सम्मानजनक ढंगले निश्कर्षमा पुर्‍याइसकेपछि संविधानसभाको म्याद फेरि तीन वा छ महिना थप्न नेपाली जनताले खुशी साथ दिने स्थिति आउँछ।”

विश्वास

उनले संविधान निर्माणबारेका विवादहरु हल गर्न र शान्ति प्रक्रियाका बाँकी काम सिध्याउन प्रमुख दलहरुबीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गरे।

“राज्य पुन:संरचना बारे समिति बनाउन र संविधानको मस्यौदा तयार गर्न हामी सक्छौं।”

माओवादी अध्यक्ष प्रचण्ड संविधान निर्माणबारेका विवादहरु हल गर्न गठित संवैधानिक समितिको उपसमितिका संयोजक समेत हुन्।

राज्य पुन:संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयमा प्रमुख दलहरुबीचका मतभेदहरु हट्न नसक्दा संविधानको प्रारंभिक मस्यौदा तयार हुन सकेको छैन।

ओझेल

पछिल्लो समयमा दलहरुको ध्यान शान्ति प्रक्रियामा सहमति जुटाउने तर्फ केन्द्रित भएकोले संविधान निर्माणबारेका विवादहरु हल गर्ने उनीहरुको अभिभारा ओझेलमा परेको छ।

प्रमुख दलहरुले दशैं अघि देखि नै शान्ति प्रक्रिया टुङ्ग्याउन माओवादीका पूर्व लडाकूहरुको समायोजन तथा पुन:स्थापना कार्य अघि बढाउन सहमतिको खोजि गरिरहेका छन्।

बिहिबार प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियाका थाँती काम सिध्याउने विषयमा दलहरुबीच तिहार लगत्तै सहमति हुने बताएका थिए।

त्यसबारे शुक्रबार उनले नेकपा एमालेका नेता माधवकुमार नेपालसंग कुराकानी गरे।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने समग्र विषयमा सहमति हुनु पर्ने अडान राखिरहेको छ।

तर माओवादी दल आफैं विवादहरुमा अल्झिएको बखत धेरैलाई परस्पर विरोधी दर्शन बोकेका दलहरुबीच सहमतिको कुरा दिवास्वप्न लाग्न सक्छ।