अब बैठक बस्ने वित्तिकै समाधान: प्रचण्ड

  • 29 अक्टोबर 2011
शान्ति प्रक्रिया संविधान निर्माण
Image caption पार्टीको आन्तरिक विवादले शान्ति प्रक्रिया र संबिधान निर्माण रोक्दैन

प्रमुख सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच अब एकपटक बैठक बस्ने वित्तिकै शान्ति प्रक्रिया र संविधान लेखनको टुंगो लागिहाल्ने बताएका छन्।

पार्टीगत काममा शनिबार सुदुर पश्चिमको धनगढी पुगेका प्रचण्ड शान्ति प्रक्रिया र संबिधान लेखनबारे पार्टीहरुसँग प्याकेजमै सहमति हुन लागेको जनाउँछन्।

उनी भन्छन्, "पार्टीहरुसँग अहिले सेना समायोजनलाई सम्मानजनक ढंगले टुंग्याएर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग सहमतिले बनाउने र संबिधान निर्माणमा मुख्यत विज्ञहरुको समुह बनाएर जाने विषयमा दलहरुसँग प्याकेजमा सहमति हुँदैछ।"

एकमत

शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नभएकोमा पार्टीहरु एकमत रहेको उनको जिकिर छ।

पछिल्लो चरणमा दलहरुबीच भएको घनिभूत छलफलमा झण्डै सहमति बनिसकेको उनी बताउँछन्।

उनी भन्छन्, "प्रधानमन्त्रीको भारत भ्रमण अगाडि जस्तै अब एकपटक बैठक बस्ने वित्तिकै सहमति निष्कर्षमा पुग्नेछ।"

मर्म

प्रचण्डले उनको पार्टीभित्र देखिएको अन्तरविरोध पार्टीभित्रको बहस भएकाले निरन्तर चलिरहने र त्यसले शान्ति प्रक्रियालाइ विस्तृत शान्ति संझौताको मर्म बमोजिम टुंग्याउन र संबिधान निर्माण गर्न नरोक्ने बताए।

पोलिटब्यूरो सदस्य लेखराज भट्टकी आमाको श्रद्धान्जलीका लागि धनगढी पुगेका प्रचण्डले कार्यकर्ता, व्यवसायी र शिविरमा रहेका लडाकुसँग भेट गरेका छन्।

त्यसपछि आयोजना गरिएको एउटा कार्यक्रममा माओवादी भित्रका तीनवटै पक्षका कार्यकर्ता समेटने प्रयास गरिएको थियो।

धनगढीस्थित बीबीसीका एकजना संवाददाताका अनुसार त्यसअवसरमा माओवादी कार्यकर्ताले आपसी मतभेद मेटाएर नेताहरु लेपार्टी एक ढिक्का राख्नुपर्ने प्रतिक्रिया दिएका थिए।