शान्ति प्रकृया पूरा गर्न महत्वपूर्ण सहमति

  • 1 नोभेम्बर 2011
पूर्व माओवादी लडाकूहरु
Image caption सहमतिमा छ हजार पाँचसय माओवादी लडाकूहरुलाई नेपाली सेनाको महानिर्देशनालयमा समायोजन गरिने कुरा छ

प्रमुख दलहरुले अवरुद्ध शान्ति प्रकृया पुरा गर्ने बाटो खोल्न एउटा महत्वपूर्ण सहमतिमा सही गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको उक्त सहमति पत्रमा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरेका छन्।

समायोजन

सहमति अनुसार छ हजार पाँचसय माओवादी लडाकूहरुलाई नेपाली सेना अन्तर्गतको महानिर्देशनालयमा समायोजन गरिने छ।

महानिर्देशनालयमा सुरक्षा निकायबाट ६५ र लडाकूहरुबाट ३५ प्रतिशत रहने छन्।

महानिर्देशनालयलाई विकास निर्माण, औद्योगिक सुरक्षा, वन सुरक्षा र विपद व्यवस्थापनको जिम्मेवारी दिइने छ।

समायोजनमा जानेले व्यक्तिगत रुपमा सुरक्षा अंगको मापदण्ड पुरा गर्नु पर्ने भनिएको उक्त सहमतीमा लेखिएको छ, "तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइने छ।

माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन बर्षसम्मको बढी उमेरमा लचकता अप्नाइने छ।"

दर्जा

सहमति अनुसार समायोजनमा सामेल हुनेहरुको दर्जा निर्धारण सम्बन्धित सुरक्षा निकायको मापदण्ड अनुसार हुने छ।

सुरक्षा अङ्गमा अधिकृत र अन्य दर्जामा समायोजन गर्दा सुरक्षा निकायको प्रचलित व्यवस्था र हालका अधिकृत र अन्य दर्जाका व्यक्तिहरुको वृत्ति

विकासमा नकारात्मक असर नपर्ने गरी दर्जा निर्धारण गरिने भनिएको छ।

उपल्लो दर्जा प्रष्ट उल्लेख नभए पनि लडाकुहरुको समयावधि गणना अनमिनले प्रमाणिकरण गर्दा उल्लेख गरेको प्रवेश मितिको आधारमा गरिने सहमतीमा उल्लेख छ।

पुनर्स्थापनामा जाने लडाकूहरुलाई छ देखि नौ लाखसम्मको शिक्षा, तालीम लगायतको व्यवस्था गरिएको छ।

स्वेच्छिक अवकासमा जानेलाई पाँच लाख देखि आठ लाख रुपियाँसम्म दुई किस्तामा उपलब्ध गराइने छ।

असहमति

सहमती पत्रमा हस्ताक्षर गरिसकेपछि सबै शीर्ष नेताहरुले एकअर्काको हात समाएर उठाएर फोटो सेसन गरेका थिए।

तर त्यसमा माओवादीका उपाध्यक्ष र महासचिव सहभागि भएनन्।

सहमति पत्र पत्रकारहरु सामू वाचन गरिए लगत्तै माओवादी उपाध्यक्ष मोहन वैद्य किरणले अध्यक्ष प्रचण्डको अनुमति लिएर आफ्नो असहमति तत्काल जाहेर गरेका थिए।

उनले सम्वाददाताहरुलाई भने, "यो सहमतिले देश र जनताको हित गर्दैन। पार्टी निर्णय विपरित छ। तर पार्टी एकतावद्ध हुन्छ।"

महासचिव रामबहादुर थापा बादलको भनाइ थियो, "जनताको शान्तिको अपेक्षा विपरित सहमति भएको छ। भोलि पत्रकार सम्मेलन गरी आफ्नो स्थिति प्रष्ट राख्छौं।"

तर त्यसपछि अध्यक्ष प्रचण्डले उक्त सहमति ऐतिहासिक भएको उल्लेख गरे।

उनले भने, "यो कार्यान्वयन हुन्छ। पार्टी बैठकले तय गरेको विधि अनुसार नै किरण र बादल कमरेडले असहमति जनाउनु भएको हो।"

उनले पार्टी एकताबद्ध रहने पनि बताए।