लडाकू वर्गीकरण कार्तिक ३० देखि, वैद्य पक्ष पनि सामेल हुने

  • 4 नोभेम्बर 2011
नन्दकशोर पुन
Image caption माओवादी लडाकू प्रमुखले सात बुँदे सहमती लागू गर्न निर्देशन जारी गरेका छन्

प्रमुख दलहरुबीच भएको सात बुँदे सहमती विरुद्ध उत्रिएका माओवादीभित्रको असन्तुष्ट खेमाका लडाकू पनि उक्त सहमति अनुसार हुन लागेको वर्गीकरणमा अहिलेलाई सहभागी हुने भएका छन्।

सेना समायोजन विशेष समितिले समायोजन, पुनर्स्थापना र अवकासमा जाने माओवादी लडाकूहरुको पुनर्वर्गीकरण कार्तिक ३० गतेबाट गर्ने निर्णय गरेको छ।

वर्गीकरणमा खटाउन आवश्यक २१० जना जनशक्ति कार्तिक २१ गतेसम्म भर्ती गर्ने गरी भर्ती प्रकृया यतिवेला अन्तिम चरणमा पुगेको छ।

तयारी

उनीहरुलाई आवश्यक तालीम दिए लगत्तै सातवटा टोली बनाएर खटाइने छ।

विशेष समिति सचिवालयका सदस्य दीपक प्रकाश भट्टले भने, "कार्तिक ३० गतेभित्र समायोजन, पुनर्स्थापना र अवकासमा जानेहरुको वर्गीकरण गरिने छ।"

सर्वेक्षण टोली मार्फत करिव १९ हजारको संख्यामा रहेका लडाकूहरुको वर्गीकरण मंसीर ७ गतेसम्म गरिसक्ने लक्ष्य सचिवालयको छ।

माओवादी सेनाका लडाकूहरु सहायक शिविरहरुमा पनि छन्।

तर भट्टले भने, "सहायक शिविरका लडाकूलाई पनि सात मुख्य शिविरमा ल्याएर वर्गीकरण गरिने छ।"

मुख्य दलहरुबीच भएको सात बुँदे सहमतीमा टेकेर वर्गीकरण गर्न लागिएको हो।

माओवादी नेताद्वय मोहन वैद्य किरण र रामबहादुर थापा बादलको समूहले उक्त सहमती खारेज हुनु पर्ने माग गरिहेको छ।

सहभागी

तर वर्गीकरण प्रकृयामा उनीहरु पक्षका लडाकूहरु पनि सहभागी हुने छन्।

विशेष समिति सचिवालयमा समेत रहेका असन्तुष्ट खेमाका एकजना नेता कूलप्रसाद केसी भन्छन्, "समायोजन, पुनर्स्थापना वा अवकासमा कुन रुपमा जाने भन्ने स्वतन्त्र विचार बुझ्नु स्वाभाविक प्रकृया हो।"

माओवादी केन्द्रिय समितिको बैठक २७ गतेदेखि फेरी शुरु हुनेछ।

नेता केसीका अनुसार, बैठक टुंगोमा नपुग्दासम्म वर्गीकरणमा उनीहरुको अवरोध हुने छैन्।

तर बैठकबाट पार्टी समायोजनको ढाँचा संसोधन गर्न तयार नभएमा आफ्नो समूहले थप निर्णय लिने उनको भनाई थियो।

वर्गीकरण सकिएपछि पुनर्स्थापना र अवकासमा जानेलाई शिविरबाट विदा गरी बाँकीलाई समायोजनका अन्य प्रकृयामा पठाइने छ।

तर ती सबै प्रकृयालाई माओवादीभित्रको विवादले असर पार्ने त हैन भन्ने आशंका पनि धेरैमा पाइन्छ।