'भट्टराई सरकार सहमतीय बन्न सक्दैन'

  • 7 नोभेम्बर 2011
सुशील कोइराला
Image caption सहमतीय सरकारको नेतृत्वमा कांग्रेसले दावी गर्ने जनाएको छ

राष्ट्रिय सहमतीको सरकारको कल्पना गरेको सात बुँदे सहमतीका दुई हस्ताक्षरकर्ता दल नेपाली कांग्रेस र नेकपा एमालेले यही सरकारले त्यस्तो स्वरुप लिन नसक्ने बताएका छन्।

सात बुँदे लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईले यहीं सरकारले सहमतीको स्वरुप लिने बताएका थिए।

तर सात बुँदे सहमती जुटाउन गठित कार्यदलका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, "एमाले र माओवादीको नेतृत्वमा दुई-दुईवटा सरकार बनिसकेकाले भावि सरकारको नेतृत्व स्वभाविक रुपमा कांग्रेसले पाउनु पर्छ।"

अस्वीकार

एमालेले पनि भट्टराई सरकारले राष्ट्रिय सरकार बन्ने सम्भावना अस्वीकार गरिदिएको छ।

उक्त दलबाट कार्यदलमा रहेका नेता भीम रावलको भनाई थियो, "वर्तमान सरकार जुन कार्यक्रम र सहमतीका आधारमा बनेको छ, त्यसप्रति एमाले र कांग्रेसको असहमती रहेकाले यो सरकारलाई राष्ट्रिय स्वरुप दिने सम्भावना देखिन्न।"

तर सहमतीयको सरकार बन्ने समयबारे भने दलहरु प्रष्ट छैनन्।

नेता रावल भन्छन्, "राष्ट्रिय सहमतीको सरकार बन्ने मिति तय भएको छैन्। शान्ति र संविधान निर्माणको प्रकृया अघि बढ्ने क्रममा उच्च राजनीतिक संयन्त्रमा छलफल भएर तय हुन्छ।"

कांग्रेस नेता सिटौलाले पनि प्रष्ट समय तोकेनन्।

आशय

तर मंसीर ७ लगत्तै त्यो प्रकृया थालनी हुनु पर्ने सात बुँदेको आशय रहेको उनको संकेत थियो।

नेता सिटौलाले भने, "मंसीर १४ गते संविधानसभाको कार्यकाल छोटै समयका लागि भए पनि थप गर्नु आवश्यक देखिन्छ। त्यसकारण सहमती अनुसार मंसीर ७ गतेभित्र गर्नु पर्ने काम सक्नु पर्छ, सबैकुरा त्यसैमा निर्भर रहन्छ।"

सात बुँदे सहमतीको प्रयास भइरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सहमतीय सरकार बन्ने सुनिश्चितता खोजेको खबरहरु आएका थिए।

सहमतीपछि उनले भने नयाँ संविधान अघि सरकारको नेतृत्व गर्ने आकांक्षा आफूले नराखेको बताएका छन्।

तर उनकै दलका असन्तुष्ट खेमाले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकारको माग गरेको छ।