प्रधानमन्त्री भट्टराईद्वारा फेरि मन्त्रिमण्डल विस्तार

  • 8 नोभेम्बर 2011
बाबुराम भट‍टराई तस्वीर कपीराइट Getty
Image caption माओवादीको असन्तुष्ट पक्ष यस पटक पनि सरकारमा सामेल छैन

राष्ट्रिय सहमतिको सरकारको नेतृत्वबारे चर्चा चुलिएको बेला प्रधानमन्त्री बाबुराम भट्टराईले फेरि मन्त्रिमण्डल विस्तार गरेका छन्।

माल्दिभ्समा हुने सार्क शिखर सम्मेलनमा भाग लिन जानु अघि उनले मंगलबार सात मन्त्री र १९ राज्य मन्त्री थपेका हुन्।

पछिल्लो विस्तारसंगै मन्त्रिपरिषद् ४६ सदस्यीय हुन पुगेको छ।

तैपनि सत्ताधारी एकीकृत माओवादीको असन्तुष्ट पक्षका सदस्यहरु यसपटक पनि सरकारमा सामेल भएका छैनन्।

प्रधानमन्त्री चुनिएपछि बाबुराम भट्टराईले सानो आकारको मन्त्रिमण्डल बनाउने बताएका थिए।

ठूलो

तर उनी नेतृत्वको सरकार मंगलबारको मन्त्रिमण्डल विस्तारपछि २०६३ सालको राजनीतिक परिवर्तनपछि बनेका सरकारहरु मध्ये सबै भन्दा ठूलो आकारको बन्न पुगेको छ।

मंगलबार एकीकृत माओवादीका छ जना र सानो दल सदभावना पार्टी आनन्दीदेवीबाट एकजना मन्त्री थपिएका छन्।

दिनानाथ शर्माले शिक्षा, लोकेन्द्र विष्टमगरले पर्यटन तथा नागरिक उड्यन, भीम प्रसाद गौतमले भुमिसुधार तथा व्यवस्था, रामकुमार यादवले सामान्य प्रशासन, सरिता गिरीले श्रम तथा यातायात, कल्पना धमलाले विज्ञान तथा प्रविधि र सत्या पहाडीले शान्ति तथा पुन:निर्माण मन्त्री पद पाएका छन्।

प्रधानमन्त्रीले उनीहरुलाई आफ्नो पद तथा गोपनियताको सपथ दिलाएका थिए।

असन्तुष्ट

सत्ता साझेदार दलहरुबाट १९ जना राज्यमन्त्रीहरु नियुक्त भएका छन्।

ती मध्ये एक जना अनुपस्थित रहेकाले मंगलबार १८ जनाले मात्र सपथ लिए।

यस पटकको विस्तारमा पनि प्रधानमन्त्रीले आफ्नै दलभित्रको असन्तुष्ट खेमाका सदस्यहरुलाई समेट्न सकेनन्।

असन्तुष्ट मोहन वैद्य पक्षले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग भएको चार बुँदे सहमती र हालै भारतसंग भएको लगानी प्रवर्धन तथा सुरक्षा सम्झौता बिप्पाको विरोध गरिरहेको छ।

मन्त्रिमण्डल विस्तार गरे लगत्तै मंगलबार प्रधानमन्त्री भट्टराई एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यसै साता माल्दिभ्सको अड्डु अटोलमा हुने दक्षिण एसियाली क्षेत्रिय संगठन सार्कको शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स तर्फ लागेका छन्।