ढुंगेललाई आममाफी सिफारिस गर्ने निर्णयप्रति संसदमा आपत्ती

  • 11 नोभेम्बर 2011
बाबुराम भट‍्टराई तस्वीर कपीराइट Getty
Image caption प्रधानमन्त्री माल्दिभ्सबाट फर्किएपछि निर्णयमा पुन:विचार हुने कतिपयको अनुमान छ

साना देखि ठूला विपक्षी दलहरुले हत्याको आरोपमा सजाय पाएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णयको संसदमा कडा आलोचना गरेका छन्।

सो निर्णयको चौतर्फी विरोध भइरहे पनि एकीकृत माओवादीले भने आममाफी दिनबाट पछि हटे देशले निकास नपाउने चेतावनी दिएको छ।

प्रधानमन्त्री बाबुराम भट्टराई सार्क शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स जानु अघि गरिएको सभासद ढुंगेललाई माफिको सिफारिस गर्ने सरकारी निर्णयको विरोध चर्किने क्रम जारी छ।

शुक्रबार संसदमा त्यसको कडा विरोध गरेको नेकपा एमालेका प्रमुख सचेतक भीम प्रसाद आचार्यले बीबीसीसंग भने, “हामीले सरकारको निर्णयको विरोध जारी राखेका छौं र थप के गर्ने भनेर छलफल जारी राखेका छौं।“

जन्मकैद

ओखलढुंगामा भएको उज्जन श्रेष्ठको हत्याको आरोपमा ढुंगेलले २२ महिना अघि सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए।

तर उनी खुल्लेआम संसद ओहोरदोहोर गरिरहेका छन्।

उनलाई जेल पठाइनु पर्ने मागका माझ राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले सरकारको आममाफी सिफारिस गर्ने निर्णयको विरोध गर्दै संसदमा भने, “कानूनी राजको उपहास भइरहेको छ, यसप्रति हाम्रो कडा आपत्ती छ।“

तर एकीकृत माओवादीकी सभासद देवी खड्काले आममाफिको पक्षमा मत राखिन्।

“द्वन्द्वको पृष्ठभूमीबाट आएका हामी सबै मिलेर अब अगाडी बढ्नु पर्छ।”

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चाँही प्रधानमन्त्री माल्दिभ्सबाट फर्किएपछि निर्णय नसिच्चए सरकारी निर्णयको सशक्त विरोध गर्दै सदन पनि चल्न नदिने चेतावनी दिएको छ।

शुक्रबारै संसदको वैठकबाट राज्य पुन संरचना आयोगको सट‍्टा विज्ञ समुह गठन गर्न बाटो खोल्दै संविधान संशोधन गर्ने कार्यक्रम थियो।

तर माओवादीको असन्तुष्ट मोहन वैद्य पक्षले नियमित प्रक्रियाबाटै संविधान संशोधन गर्नु पर्ने अडान राखेपछि संविधान संशोधन गर्ने काम पर सरेको छ।