मोहन वैद्य पक्षद्वारा लडाक‍ू समायोजन पक्रियाको पुन: विरोध

  • 15 नोभेम्बर 2011
माओवादी नेताहरु तस्वीर कपीराइट .
Image caption केन्द्रिय समितिको वैठकमा विवादहरुमाथि छलफल हुने बताइएको छ

प्रमुख तीन दलले माओवादी पूर्व लडाकूहरुको पुन:वर्गीकरण थाल्ने सहमति गरेको भोलि पल्टै एकीकृत माओवादीको असन्तुष्ट मोहन वैद्य पक्षले प‍ूर्व लडाकूहरुलाई समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग रहन आग्रह गरेको छ।

सो पक्षले सात बुँदे सहमति अनुसार थालिने समायोजन प्रक्रियालाई शान्ति विरोधी र आत्मसमर्पणवादी भनेको छ।

तर प्रचण्ड पक्षिय एक नेताले वैद्य पक्षको विरोध सैध्दान्तिक मात्र हुन सक्ने बताएका छन्।

१५ दिन अघि भएको सात बुँदे सहमति कार्यान्वयन गर्न सोमबार प्रमुख दलहरु सहमत भए लगत्तै सबै काम सहज हुने अपेक्षा कतिपयको थियो।

‘अत्मसमर्पणवादी’

तर माओवादीका असन्तुष्ट नेता द्वय उपाध्यक्ष मोहन बैद्य र महासचिव रामवहादुर थापाले एउटा वक्तव्य जारी गर्दै सेना समायोजन सम्वन्धी सम्झौता “अत्यन्तै अपमानजनक र आत्मसमर्पणवादी” भएको भन्दै प‍ूर्व लडाकूहरुलाई सो प्रक्रियाबाट पूर्णरुपमा अलग हुन आग्रह गरेका छन्।

त्यसबारे वैद्य पक्षीय नेता सीपी गजुरेलले संवाददाताहरुलाई भने “समायोजनप्रति हाम्रो आपत्ती हो, पुरै प्रक्रिया प्रति होइन।”

सरकारी फौजमा हुने समायोजनको विरोध गरेपनि वैद्य पक्षले पुन:स्थापना वा रकम लिएर स्वैच्छिक अवकासमा जाने विकल्प खुल्ला राखेको छ।

तर माओवादीको संस्थापन पक्षीय मानिने प‍ूर्व पोलिटब्युरो सदस्य जनार्दन शर्माले वैद्य पक्षको वक्तव्यले प‍ूर्व लडाकूहरुको समायोजन प्रक्रिया प्रभावित नहुने आशा व्यक्त गरे।

‘सैद्धान्तिक विरोध’

“उहाँहरुले राजनीति गर्न सैद्धान्तिक विरोध गरेको जस्तो लाग्छ।”

माओवादी सेना समायोजन विशेष समितिको वैठकले सोमबार मात्रै पूर्व लडाकूहरुको समायोजन पुन:स्थापना र स्वैच्छिक अवकास सम्वन्धी कार्ययोजना परिमार्जन सहित पारित गर्दै पुन:वर्गीकरणको काम मंसिर सात गते भित्र सिध्याउने निर्णय गरेको थियो।

तर एकीकृत माओवादीको असन्तुष्ट वैद्य पक्षको पछिल्लो आह्वानले सो पक्रियालाई नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता कतिपय विश्लेषकहरुको छ।