देउबा पक्षद्वारा कांग्रेस कार्य समिति बैठक बहिष्कार

  • 23 नोभेम्बर 2011
सभापति सुशील कोइराला
Image caption कोइरालाले बैठकमा नियमित भाग लिएर विवादमाथि छलफल गर्न अपील गरेका छन्

सभापति सुशील कोइरालाले दशैं अघि भातृ संगठनहरु विघटन गर्दा उत्पन्न विवाद समाधान नभएको भन्दै नेता शेरबहादुर देउबा पक्षधरहरुले बुधबारको केन्द्रिय कार्यसमिति बैठक बहिष्कार गरेका छन्।

यही निहुँमा देउबाले केन्द्रिय समितिको सदस्य पदबाट दिएको राजीनामा चाहीं कोइरालाले यस अघिनै अस्वीकृत गरिसकेका छन्।

विवादको छायाँ

देशको वर्तमान राजनीतिक स्थितिबारे छलफल गर्ने एजेण्डा सहित डाकिएको केन्द्रिय कार्य समितिको बैठक आफ्नै पार्टिभित्रको विवादको छायाँमा पर्‍यो।

बैठक निर्धारित समयभन्दा निकै ढिलोमात्र बस्न सक्यो।

असी सदस्य रहेको कार्य समितिको बैठकमा देउवा समर्थक करीब ३० जना नआउने भएपछि त्यसलाई औपचारिक रुप दिन सभापति कोइरालालाई अप्ठेरो परेको थियो।

साँझ अबेर उनले विज्ञप्ति नै जारी गरी बैठकमा नियमित भाग लिएर छलफलबाट मतमतान्तर व्यवस्थित गर्न सहयोग गर्न अपील गरे।

उनीमाथि थप दबाब त्यतिबेला पर्‍यो जतिबेला मध्यमार्गीको भूमिकामा रहेका केहीले विवाद साम्य नपारी बैठक नबसाल्न उनलाई सल्लाह दिए।

नेता अर्जुन नरसिंह केसी त्यस्तै सल्लाह दिनेमध्येका एक थिए।

“पार्टिभित्र समन्वय र सहमतिको विकल्प छैन। हामी अरु दलहरुसंग त केही लिने केही दिने गरी मिलाइराखेका छौं भने आफ्नै दलभित्र हामीले त्यो परिस्थिति निर्माण गर्नुपर्छ भन्ने मेरो आग्रह हो,” केसीले भने।

नेता केसी बुधबार बिहान भएको देउबापक्षीय सदस्यहरुको भेलामा पनि पुगेका थिए जहाँ आफ्ना माग सम्बोधन नभएकोले बैठक बहिष्कार गर्ने निर्णय गरिएको थियो।

शक्ति संघर्ष?

खासगरी केही भातृ संगठनहरुको सभापतिले विघटन गरिदिएपछि देउबा पक्षधर रुष्ट बनेका हुन्।

तर बाहिरबाट हेर्दा भातृ संगठनहरुमाथिको प्रभुत्व कायम राख्ने रस्साकस्सी जस्तो देखिएपनि कांग्रेसको जारी विवाद मूलत पार्टिमाथिकै प्रभुत्वको निम्ति चलेको धेरैको ठम्याई छ।

सभापति पदमा हारेपछि अल्पमतमा परेका पूर्व प्रधानमन्त्री देउबाले सुशील कोइरालासंग पार्टि संगठनमा दह्रो लेनदेन गर्न भातृ संगठन विवादलाई निहुँ बनाएको हुनसक्ने कतिपयको मूल्यांकन छ।

देउबा पक्षीय नेताहरुले उक्त भनाईलाई आधारहिन बताउने गरेका छन्।

तर, गत वैशाख ९ गते सभापति कोइरालाले आफुहरुसंग संसदीय दलको नेता फेर्ने लगायतका विषयमा सहमति गरेको एकजना देउबा निकट नेता विमलेन्द्र निधिले बताएका छन्।

“त्यो बेला स्वयं सभापति कोइरालाले, रामचन्द्र पौडेलजीले राम्रो ढंगले काम गर्न नसकेकोले देउबाजीलाई संसदीय दलको नेतृत्व लिन प्रस्ताव गर्नु भएको थियो,” निधिले बीबीसीलाई बताए।

अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने चर्चा चलेको बेला सरकारमा कोइरालालाई पठाएर पार्टिभित्र आफ्नो हात मजबूत पार्ने देउबाको चाहना रहेको कुरालाईपनि उनले सीधै नकारेनन्।

सबैको भूमिका पार्टिभित्र व्यवस्थित हुनुपर्ने उनको भनाईले कांग्रेसभित्रको किचलो अझै लम्बिने संकेत गरेको छ।