प्रमुख विपक्षी दलद्वारा संविधानसभाको म्याद थप्नुअघि कार्यतालिकाको माग

  • 26 नोभेम्बर 2011
nepali congress
Image caption म्याद थप्नु अघि शान्ति प्रक्रियामा थप प्रगति आवश्यक रहेको कांग्रेसको भनाइ छ

प्रमुख विपक्षी नेपाली कांग्रेसले शान्ति प्रक्रिया टुंग्याउन र संविधानको मस्यौदा तयार पार्न लाग्ने समय हिसाब गरेर मात्र संविधान सभाको म्याद थप्नुपर्ने बताएको छ।

शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको शुक्रबारको फैसला र राज्य पुनर्संरचनाको कामलाई ध्यानमा राख्दै आवश्यक समय लिएर म्याद थप्नुपर्ने निर्णय गरेको हो।

सरकारले प्रस्ताव गरेको छ महिना म्याद थपलाई औपचारिक समर्थन गरिनसकेको कांग्रेसले माओवादी कब्जामा रहेको जग्गा फिर्ता प्रक्रियालाई म्याद थपसँग जोड्ने बताएको छ।

म्याद थपबारे दलहरुसँग कुराकानी गर्ने जिम्मेवारी पाएका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले हालै गरिएको सातबुँदे सहमति बमोजिम कब्जा सम्पत्ति फिर्ता हुनुपर्ने बताउँछन्।

उनी भन्छन्, "कब्जा सम्पत्ति फिर्ता र माओवादीसँग रहेको हतियार अहिले सबभन्दा महत्वपूर्ण विषय हुन्। तिनैबारे अरु दलहरु र प्रधानमन्त्रीसँग भोली कुरा उठाउँछौं।"

सरकारले पेश गरेको संविधान संशोधनमा आइतबार मतदान अघि तीन प्रमुख दल माओवादी, कांग्रेस, एमाले तथा मधेशी मोर्चाको संयुक्त बैठक डाकिएको छ।

दलहरुसँगको छलफलपछि म्याद थपको समय निश्चित हुने पौडेल बताउँछन्।

कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला र राज्य पुनसंरचनाको कामलाई लाग्ने समय ध्यानमा राख्दै कार्यतालिका बनाएर म्याद थप गर्नुपर्ने निर्णय गरेको हो।

अघिल्लोपटक झैं‌ तीन महिना म्याद थपले संविधान लेखनको काम नटुंगिने नेता पौडेल बताउँछन्।

चुनावबाट दुइ वर्षे कार्यकाल पाएको संविधान सभाले तीनपटक गरी डेढ वर्ष कार्यकाल थपिसकेको छ।

शुक्रबार सर्वोच्च अदालतले संविधासभाको म्याद अब बढिमा एकपटक छ महिनाका लागि मात्र थप्न मिल्ने फैसला गरेको थियो।

काठमाण्डूस्थित बीबीसीकी एक संवाददाता भन्छिन्, म्याद थपबारे सर्वोच्च अदालतको शुक्रबारको फैसलालाई स्वागत गर्नेहरुको संख्या बाक्लै भएपनि माओवादी मात्र नभै कांग्रेस लगायतका दलमा समेत संविधान संशोधनको हक संसदमा निहित हुने तर्क उठन थालेको छ।