संविधान लेखन र शान्ति प्रक्रिया टुंग्याउन अर्को कार्यदल

  • 27 नोभेम्बर 2011
four parties तस्वीर कपीराइट BBC World Service
Image caption संविधानसभाको म्याद कति थप गर्ने भन्ने तय गर्न कार्यदल गठन गरिएको छ

सर्वोच्च अदालतले संविधानसभाको म्याद अब ६ महिनाभन्दा बढी थप्न नहुने फैसला गरेको पर्सिपल्ट विपक्षी दलहरुले माओवादीलाई शान्ति प्रक्रिया नटुंग्याइ संविधान नलेखिने चेतावनी दिएका छन्।

आइतबार बिहान सबेरै डाकिएको प्रमुख दलका शीर्ष नेताहरु उपस्थित बैठकमा खासगरी सातबुँदे सहमति पछि पनि त्यसको कार्यान्वयनमा माओवादी गंभीर नभएको आरोप लगाइएको थियो।

संविधानसभाको म्याद थप गर्ने विषयमाथि डाकिएको प्रमुख तीन दलका शीर्ष नेताहरु र मधेशी मोर्चाका नेता सम्मिलित आइतबारको बैठकमा यस अघि भएका संझौता कार्यान्वयन नगरेकोमा विपक्षीहरुले माओवादीको चर्को आलोचना गरेका थिए।

बैठकमा सहभागी कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भने, "अहिले जति समयका लागि संविधानसभाको म्याद थपिए पनि शान्ति प्रक्रिया नटुंगिने हो भने संविधान लेखिँदैन। माओवादीले गंभीर भएर सहमतिहरु कार्यान्वयन गर्नुपर्छ।"

कार्यदल

करीब डेढ घन्टा छलफल गरेपछि शान्ति प्रक्रिया र संविधान लेखनका काम सम्पन्न गर्न आवश्यक समय तालिका सहितको खाका तयार पार्न प्रमुख दलहरुले चार सदस्यीय कार्यदल बनाएका छन्।

प्रमुख सत्तारुढ दल एकीकृत माओवादी, अर्को सत्तारुढ समूह मधेशी मोर्चा, विपक्षीहरु नेपाली कांग्रेस र नेकपा एमालेका एक एकजना प्रतिनिधि रहेको कार्यदलले सोमबार एउटा खाका तयार पार्ने बताइएको छ।

बैठकले कांग्रेस नेता सिटौला, माओवादी नेता पोष्टबहादुर बोगटी, एमाले नेता इश्वर पोखरेल र मधेशी मोर्चाका तर्फबाट जयप्रकाश गुप्ता रहेको कार्यदल गठन गरेको छ।

खाका

कार्यदलले सोमबार शान्ति प्रक्रिया र संविधान लेखनबारे नयाँ संझौताको खाका तयार पार्नेछ जसको आधारमा मंगलबार फेरि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा बस्ने बताइएको छ।

माओवादी नेता तथा उर्जामन्त्री पोष्टबहादुर बोगटीले अर्को राजनीतिक प्रतिबद्धता कार्यदलले तयार पार्ने बताए।

बोगटीले भने, "संविधान लेखनको काम फटाफट अगाडि बढाउन अर्को राजनीतिक प्रतिबद्धता गर्ने हो।"

दलहरुबीच सहमति बन्न नसकेपछि आइतबारका लागि तय गरिएको संविधानको म्याद थप सम्बन्धी संविधान संशोधन विधेयकमाथि मतदान हुन सकेन।