संविधानसभाको म्याद ६ महिनाले थप

  • 29 नोभेम्बर 2011
प्रमुख तीन दल र मोर्चाका नेता तस्वीर कपीराइट BBC World Service
Image caption चार पक्षबीच छ बुँदे सहमतिपछि संविधानसभाको म्याद थप सहज भएको हो

व्यवस्थापिका संसदको मंगलबार बसेको वैठकले संविधानसभाको आयु छ महिनाले थपेको छ।

संविधानसभाको पछिल्लो पटक थपिएको म्याद बुधबार सकिदै थियो।

संसदमा अन्तरिम संविधानको एघारौं संशोधन प्रस्ताव दुई तिहाई बहुमतले पारित भएपछि संविधानसभाको म्याद आगामी जेठ १४ गते सम्मका लागि थपिएको हो।

केहि दिन अघि सर्वोच्च अदालतले संविधानसभाको म्याद अन्तिम पटक, छ महिना सम्म थप्न सकिने फैसला सुनाएको थियो।

मंगलबारै प्रमुख दलहरुबीच भएको छ बुँदे सहमतिले म्याद थपको वातावरण सहज बनाएको थियो।

मतदान

मंगलबार चौथो पटक म्याद थप भएपछि शुरुमा दुई वर्षे कार्यकाल लिएर जन्मिएको संविधानसभाको आयु अब चार वर्षको पुगेको छ।

संसदमा भएको मतदान पछि सभामुख सुवास नेम्वाङले संविधान संशोधन प्रस्तावको पक्षमा ५०५ र विपक्षमा ३ मत परेको जानकारी दिए।

“उक्त संख्या दुई तिहाई भन्दा बढी मत भएकोले नेपालको अन्तरिक संविधान ११औं संशोधन २०६८ लाई पारित गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको घोषणा गर्दछु।”

संसदको वैठकअघि एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधानसभाको म्याद ६ महिना थप्ने लगायतका सहमति भएको थियो।

सहमति

चारै पक्षका शीर्षस्थ नेताहरुले हस्ताक्षर गरेको छ बुँदे सहमतिमा कार्तिक १५ गतेको सात बुँदे सहमति पूर्ण कार्यान्वयन गर्ने, शान्ति प्रक्रियाका सबै काम मंसिर मसान्तभित्र सक्ने, राज्य पुनर्सरचना सम्वन्धी सुझाव आयोगको प्रतिवेदन पहिलो बैठक बसेको मितिले दुई महिनाभित्र पेस गर्ने उल्लेख छ।

सो सहमतिमा संविधान निर्माणको नयाँ कार्यतालिका मंसिर २० गते सार्वजनिक गर्ने, प्रत्येक साता शीर्ष नेताहरुले प्रगतिको समीक्षा गर्ने र राष्ट्रिय सहमतिको सरकार अविलम्व गठन गर्ने उल्लेख छ।

तर सहमतिको सरकारको नेतृत्व कसले गर्ने हो त्यस्को टुङ्गो लागेको छैन।

त्यसबारे प्रमुख दलहरुबीच विवाद चर्किने संकेतहरु बाहिर आइसकेका छन्।