समायोजन हुनेको संख्या बढाउन सकिन्न:विपक्षी

  • 1 डिसेम्बर 2011
तस्वीर कपीराइट Getty
Image caption प्रधानमन्त्रीले मुख्य विपक्षी दलसँग समायोजन हुने संख्या बढाइदिन आग्रह गरेका छन्

प्रमुख विपक्षी दल नेपाली कांग्रे‌सका सभापति सुशील कोइरालाले प्रधानमन्त्री बाबुराम भ‍टटराईलाई सेना समायोजनबारे गरिएको राजनीतिक सहमति विपरित सार्वजनिक रुपमा नबोल्न आग्रह गरेका छन्।

बिहीबार बिहान कांग्रेस सभापति कोइराला निवास पुगेर प्रधानमन्त्री भट्टराईले पुनवर्गीकरण गर्दा समायोजन हुन चाहने लडाकुको संख्या अत्यधिक देखिएकाले संख्यामा पुनर्विचार गर्न आग्रह गरेका थिए।

तर कोइरालाले प्रधानमन्त्रीलाई सहमति विपरित विचारहरु सार्वजनिक गर्दै नहिँडन सुझाएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए।

सिटौलाले भने, "साढे ६ हजार भन्दा बढी समायोजन गर्ने भनेर गलत कुरा बोल्नुभो, सहमतिको इमानदारी पूर्वक पालना गर्नुपर्छ। सहमतिको उल्टो व्याख्या नगर्नोस् भनेर हाम्रा सभापतिले प्रधानमन्त्रीलाई भन्नुभयो।"

प्रयत्न

राजनीतिक दलहरुबीच बढीमा ६५०० लडाकु सुरक्षा निकायमा समायोजन गर्न सकिने भन्ने सहमति भएपनि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारमात्रै समायोजन संख्या बढाउन प्रयत्न गर्ने बताएका थिए।

दलहरुले ठीक एक महिना अघि बढिमा ६ हजार ५ सय लडाकु समायोजन गर्ने लिखित सहमति गरेका थिए।

अर्को ठूलो विपक्षी दल नेकपा एमालेका महासचिव तथा माओवादी लडाकु व्यवस्थापन सम्बन्धी विशेष समितिका सदस्य इश्वर पोखरेल समायोजन हुने लडाकुको संख्या बढ्न नसक्ने बताउँछन्।

असंभव

पोखरेलले भने, "बढीमा साढे छ हजार भनेर उहाँहरुले सहमतिको गरेको कुरा हचुवाका भरमा गरेको होइन। त्यो बढाउने प्रस्ताव कसैले ल्याएको पनि छैन। त्यो संभव पनि छैन।"

पुनवर्गीकरण प्रक्रिया पुरा भएपछि सेनाले तय गरेको मापदन्ड पुरा गरेर ६ हजार ५ सय लडाकु छानिए भने बाँकीको भागमा स्वत: स्वेच्छिक अवकास पर्ने सिटौलाले बताए।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, विपक्षी दलहरुले समायोजन संख्या बढाउने माओवादीका उच्च नेताहरुका टिप्पणीलाई माओवादीको कार्यकर्ता भुलाउने उपायका रुपमा हेरेको बताएका छन्।