संविधान आएपनि नआएपनि सत्ता कब्जा: प्रचण्ड

  • 3 डिसेम्बर 2011
Image caption जनविद्रोह या चुनाव जे बाट भएपनि सत्ता कब्जा गर्ने प्रचण्डले दोहोर्‍याएका छन्

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान लेखिए पनि नलेखिए पनि माओवादीको अन्तिम लक्ष्य सत्ता कब्जा रहेको बताएका छन्।

शनिबार माओवादी मुख्यालय कोटेश्वरमा आयोजित एउटा कार्यक्रममा प्रचण्डले संविधान लेखिए चुनाव मार्फत र नलेखिए जनविद्रोह मार्फत सत्ता कब्जा गर्ने बताएका हुन्।

नेपालका प्रमुख दलहरुबीच आशंका र विवादको विषय बन्ने गरेको “सत्ता कब्जा” शब्द एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइको मुख्य विपक्षीहरुले विरोध गरेका छन्।

पार्टीका आन्तरिक र बाह्य सभा समारोहमा बारम्बार माओवादीको अन्तिम लक्ष्य सत्ता कब्जा भन्ने गरेका प्रचण्डले केहि समय यता त्यसबारे कम्तिमा सार्वजनिक समारोहमा बोलेका थिएनन्।

प्रजातन्त्र

पछिल्लो समयमा माओवादीले संस्थागत रुपमै जनविद्रोहको कार्यदिशा परिवर्तन गरेर शान्ति र संविधानको बाटो अपनाएको भन्दै त्यसले आफुहरुबीच विश्वासको वातावरण बन्दै गएको विपक्षी दलहरुले भन्दै आएका थिए।

त्यस्तो सत्ता कब्जा विरुद्ध आफुहरुको संघर्ष जारी रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसका उपसभापति तथा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताएका छन्।

पौडेल भन्छन्, "हामी सत्ता कब्जा हुन दिन्नौं। नेपालमा प्रजातन्त्र चल्नुपर्छ। कुनै राजा या सैनिक जनरल या पार्टीले सत्ता कब्जा गर्ने प्रयास गरेमा हामी अन्त्यसम्म लडिरहन्छौं। "

आपत्ति

मुख्यदलहरुबीच आइतबार हुने बैठकमा प्रचण्डका भनाइबारे छलफल हुने औंल्याउँदै एमाले महासचिव इश्वर पोखरेलले प्रचण्डको भनाइमाथि आपत्ति जनाए।

उनी भन्छन्, "शान्ति प्रक्रिया टुंगिन लागेका बेलामा प्रचण्डजीले त्यस्तो भन्नु गैर जिम्मेवार अभिव्यक्ती हो, त्यसले आपसी आशंका र अविश्वास बढाउँछ।"

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, खासगरी आफ्ना कार्यकर्ताहरु माझ प्रचण्ड लगायत माओवादी मुख्य नेताहरुले बारम्बार भन्ने गरेको सत्ता कब्जाले शान्ति प्रक्रियालाई ठूलै अडचन पार्ने संभावना भने देखिन्न।