विशेष समिति बैठक बस्न नसक्दा समायोजन प्रक्रिया अड्कियो

  • 7 डिसेम्बर 2011
लडाकुहरुको पुनर्वर्गीकरण तस्वीर कपीराइट dd
Image caption पुनर्वर्गीकरणपछि समायोजनमा जाने र अवकाश लिने लडाकुहरुलाई छुट्ट्याउन बाँकी छ

लडाकुहरुको पुनर्वर्गीकरण सकिएको झण्डै एक साता वित्न लाग्दापनि विशेष समितिको बैठक बस्न नसक्दा समायोजन र स्वैच्छिक अवकाश रोजेका लडाकुहरुलाई छुट्याएर प्रक्रिया टुंग्याउने काम अड्किएको छ।

बैठक बस्न भएको ढिलाईप्रति प्रतिपक्षी दलका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

तर प्रधानमन्त्रीको अस्वस्थताका कारण ढिलाई भएको भन्दै अब बैठक छिट्टै बस्ने प्रधानमन्त्रीका सल्लाहकारले जनाएका छन्।

थाँती

लडाकुहरुको समायोजन र पुनर्स्थापनाको जिम्मा पाएको विशेष समितिको बैठक पुनर्वर्गीकरण प्रक्रिया सकिए यता एकचोटिपनि बसेको छैन।

जसकारण बैठकका महत्वपूर्ण एजेण्डा थाँती रहेका छन्।

“यो असाध्यै ढिलो भयो। शिविरमा लडाकुहरुको रोजाईको अभिलेख भइसकेको छ। समायोजनमा जानेहरुको संख्या सहमतिमा तोकिएको भन्दा धेरै देखिएकोले त्यसलाई तोकिएको संख्याभित्रै ल्याउने बारे छलफल गर्नु छ अनि स्वैच्छिक अवकाश रोजेकाहरुलाई तुरुन्तै विदाई गर्नु छ,” समितिका सदस्य एवं प्रतिपक्षी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भने।

स्वैच्छिक अवकाश रोज्नेहरुलाई छिटै विदाई गर्न उनीहरुलाई दिइने भनिएको रकम र दिने प्रक्रिया टुंग्याउने कामपनि बैठक नबस्नाले अड्किएको छ।

आउने बैठकमा त्यसबारे छलफल हुने समिति सदस्य एवं एमाले नेता भीम रावलले बताए।

“रकम के, कसरी उपलब्ध गराउने अनि शिविरहरुमा कसरी लडाकुहरुलाई छुट्ट्याएर तिनलाई खाली गराउने भन्ने जस्ता कुराहरु छलफल हुन्छन्,” रावलले भने।

विवाद

पुनर्वर्गीकरणका क्रममा अन्मिनले प्रमाणीकरण गरेको उन्नाईस हजार चानचुन मध्ये करीब पच्चीस सय लडाकुले भाग नलिएपछि तिनको तलब भत्ता माओवादी पार्टिले हिनामिना गरेको आरोप लागेको छ।

त्यो कुरा विशेष समितिको बैठकमा चर्कै ढंगले राख्ने प्रतिपक्षी कांग्रेसको तयारी छ।

“यो बैठकमा छलफल हुनुपर्ने प्रमुख विषय हो। राज्यकोषको दुरुपयोगको कुरा हामीले नउठाउने हो भने हामी नेपाली जनताप्रति जिम्मेवार नभएको देखिन्छ,” रिजालको भनाई छ।

तर उक्त विषयलाई पन्छाउँदै आएका माओवादी नेता तथा विशेष समितिका संयोजक समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ताधारी दलहरुले यस मामिलामा धेरै घोचपेच गर्ने सम्भावना छैन।

“जे छ हामी सबैको सामुन्ने छ। यस मानेमा माओवादी नेतृत्व आत्मालोचनात्मक रुपमा प्रस्तुत हुनुपर्छ। तर यही कुरालाई विवादमा ल्याएर सिंगो शान्ति प्रक्रियालाई अप्ठेरोमा पार्न हुन्न,” विशेष समितिका सदस्य तथा सरकारमा सहभागी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले बताए।

ती सबै कुरा हुनुपर्ने भनिएको विशेष समितिको बैठक बोलाउन प्रधानमन्त्रीको अस्वस्थताका कारण मात्रै केही ढिलो भएको उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिएका छन्।

पौडेलका अनुसार प्रधानमन्त्रीले सर्वाधिक महत्व दिएको विषय यही भएकाले छिट्टै बैठक डाकिनेछ।