लडाकुको चाँजो पाँजो मिलाउन सचिवालयलाई आदेश

  • 11 डिसेम्बर 2011
maoists rebels तस्वीर कपीराइट dd
Image caption माओवादी लडाकु व्यवस्थापनको चाँजोपाँजोको प्रक्रिया मिलाउन चारदिन तोकिएको छ

माओवादी लडाकु व्यस्थापन गर्न गठित विशेष समितिले माओवादी लडाकुलाई बिदा गरी शिविर खाली गर्ने प्रक्रिया तयार पार्न समिति अन्तर्गतको सचिवालयलाई निर्देशन दिएको छ।

लडाकुको वर्गीकरण पछि पहिलोपटक आइतबार बसेको बैठकले वर्गीकरणको औपचारिक तथ्यांक समेत सदर गरेको थियो।

आइतबारै सचिवालय सदस्यहरुले विशेष समिति सदस्यहरुलाई लडाकु वर्गीकरणको परिणाम र स्थलगत विवरण पेश गरेका थिए।

त्यसपछि समितिका सदस्यहरुले घन्टौं छलफल गरेर सचिवालयलाई लडाकु व्यवस्थापनको सम्पूर्ण प्रक्रिया तयार पार्न निर्देशन दिएका हुन्।

निर्देशन

एकजना सचिवालय सदस्य दिपकप्रकाश भट‍्ट भन्छन्, "समायोजनमा जान चाहनेलाई समायोजनस्थलसम्म पुर्‍याउने, मापदण्ड पुरा नगर्नेलाई नयाँ परिचय पत्र दिने, पुनस्थापना प्याकेज रोज्नेलाई व्यवहारिक प्याकेज उपलब्ध गराउने र पुनस्थापनामा जान चाहनेलाई घरसम्म पुर्‍याउने कार्यविधि अब चारदिनभित्र तयार पार्न निर्देशन पाएका छौं।"

२१० जना सर्वेक्षणकर्ता र १२ जना सचिवालय सदस्यले मंसिर ३ देखि शुरु गरेर जम्मा १५ दिनमा विभिन्न शिविरमा पुगी स्थलगत सर्वेक्षण पुरा गरेका थिए।

भट्टका अनुसार समायोजनमा जान चाहनेको संख्या ९६९०, स्वेच्छिक अवकासमा जान चाहनेको संख्या ७२८६ र पुनस्थापनामा जानेमा छ जना छन्।

छलफल

यसैबीच संविधान लेखनमा रहेका मतभेद हटाउन अन्तरपार्टी बैठक गर्ने प्रयास स्वरुप आइतबार नै नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल भएको छ।

बैठकमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले भने, "संविधान लेखनमा रहेका मतभेद हटाउने उद्देश्यले हाम्रो सक्रियतामा एमालेसँग बैठक बस्यौं। अब माओवादी र मधेशी दलहरुसँग पनि छलफल गर्छौं।"

दलहरुबीच शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली र संविधानको प्रस्तावना कस्तो हुने भन्नेमा सहमति आवश्यक छ।

राज्य पुर्नर्संरचनाबारे सहमतिमा पुग्न आयोग बनाइएको छ।

सबै विवादित विषयमा सहमतिका लागि आन्तरिक र अन्तरपार्टी बैठक आवश्यक रहेको ठहर शनिबार विवाद समाधान उपसमितिका सदस्यहरुले गरेका थिए।