सहमति भएका बुँदाहरुको अनुमोदन शुरु

  • 16 डिसेम्बर 2011
constituent assembly nepal
Image caption दलहरुले मतभेद सुल्झाएनन् भने निर्णयार्थ संविधानसभामा पठाइनेछ

संविधानसभाको संवैधानिक समितिले भावी संसद दुई सदनात्मक हुने भनी विवाद समाधान उपसमितिले गरेको सहमति अनुमोदन गरेको छ।

उपसमितिले गरेका २ सय भन्दा बढी यस्ता सहमति अब क्रमश अनुमोदन गर्दै जाने समितिका सभापति निलाम्बर आचार्यले बताए।

दलहरुले अझ पनि एक दर्जन भन्दा बढी विवादित बुंदाहरुमा सहमति खोज्न बाँकी नै छ।

दलहरुले अबको दुई हप्तामा संविधान लेखन क्रममा रहेका मतभेद सुल्झाउन सकेनन् भने तिनलाई बहुमतबाट टुंग्याउन संविधानसभामा पुर्‍याइने सभापति आचार्यले जानकारी दिए।

सहमति हुन नसकेका विभिन्न विषय कहिले सहमति गर्लान् र संविधानको मस्यौदामा राखौंला भनेर कुरेर बस्ने गरेको संवैधानिक समितिले यसपटक भने आफुले तय गरेको कार्यतालिका अनुसार काम अगाडि बढाउँदै लग्ने जनाएको छ।

अनु्मोदन

नेपालको संसद दुई सदनात्मक हुने भनी विवाद समाधान उपसमितिले गरेको यस अघिको सहमतिलाई संवैधानिक समितिले शुक्रबार अनुमोदन गरेको छ।

आचार्यले भने,"विवाद समितिले प्रतिवेदन पेश गरेको थियो। ती विषयलाई अनुमोदन गर्ने काम शुरु भएको छ। अनुमोदन हुन सकेनन् भने संविधानसभामा गएर मतदानका आधारमा टुंगो लाग्नेछ।"

उनले दलहरुलाई विवाद समाधान गर्न पुस १५ गतेसम्मको समय दिईएको बताए।

योजना

१५ गतेभित्र सहमति बन्न नसकेको खण्डमा असहमतिका बुँदा सहित त्यसलाई संविधानसभामा पठाइनेछ।

असहमति कायम रहेका खण्डमा पुस २१ गते संविधानसभामा पेश गर्नको निम्ति समय माग्ने योजना रहेको आचार्य बताउँछन्।

दलहरुबीच अझ पनि संविधानको प्रस्तावना कुन सैद्धान्तिक दर्शनमा आधारित भएर लेख्ने, शासकीय स्वरुप कस्तो हुने भन्नेमा ठूलो मतभेद कायमै छ।

राज्यको पुनसंरचना बारे आयोगले काम गरिरहेकाले त्यसबारे हुने मतभेदको आंकलन हुन बाँकी नै छ।