पौडेल निधन घटनाको न्यायिक छानविनका लागि समिति गठन

  • 17 डिसेम्बर 2011
shiba paudel
Image caption शिव पौडेलको निधन घटनामा सरकारले न्यायिक छानविन समिति गठन गरेको छ

विघटित तरुण दलका चितवन जिल्ला अध्यक्ष शिव पौडेलको निधनमाथि सरकारले तीन सदस्यीय न्यायिक आयोग गठन गरेको छ।

पूर्व न्यायाधिश सह महान्यायाधिवक्ता र प्रहरी अधिकारी राखिएको तीन सदस्यीय छानविन आयोगलाई प्रतिवेदन तयार पार्न एकमहिना समय दिइएको छ।

तरुण दलको माउ संस्था तथा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शनिबार दिउसो आन्तरिक छानविन समिति गठन गरिसकेको छ।

शनिबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले पौडेलका परिवारलाई दश लाख रुपैया क्षतिपूर्ति दिने निर्णय गरेको छ।

तरुण दलको माउसंस्था तथा प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह समेत सरकारले गरेको छ।

एउटा हत्या अभियोगमा चितवनको कारागरमा थुनामा रहेका पौडेलमाथि मंसिर २० गते कारागार भित्रै सांघातिक आक्रमण भएको बताइएको थियो।

चितवनको अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित न्यूरो अस्पताल ल्याइएका पौडेलको शनिवार विहान निधन भएको थियो।

निधन लगत्तै राजधानी लगायत देशभरका प्रमुख शहरहरुमा प्रदर्शन र झडप शुरु भएको थियो।

शनिबार दिनभर सवारी साधन आवागमन अवरुद्ध पारिँदा जनजीवन प्रभावित भएको थियो।

बीबीसीका चितवन संवाददातासँग कुरा गर्दै तरुण दल चितवन जिल्लाका सचिव प्रेम पाठकले पौडेलको हत्यामा संलग्न व्यक्तिहरुमाथि कारवाही हुनुपर्ने माग गरेका छन्।

उनी भन्छन्, "प्रहरी प्रशासनको नियन्त्रणमा रहेको व्यक्तिमाथि ज्यान जानेगरि सांघातिक आक्रमण हुनु आपत्तिजनक छ, सरकारले घटनामा सम्बन्धित सबैमाथि कारवाही गरोस र पौडेललाई शहीद घोषणा गरियोस।"

यस अघि कांग्रेसले पौडेललाई शहिद घोषणा गर्नुपर्ने र घटनाको न्यायिक जाँच हुनुपर्ने माग सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।