सेनामा भर्तीबारे प्रधानमन्त्री सेनाबीच कुराकानी

  • 5 जनवरी 2012
baburam bhattrai तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्रीले सेनामा भर्तीबारे सैनिक अधिकारी र सत्ता सहयात्रीसँग परामर्श गरेका छन्

दुइ सत्तारुढ राजनीतिक घटकहरु एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच विहिबार सरकारको समीक्षा र सेनामा मधेशी भर्तीबारे कुराकानी भएको छ।

प्रधानमन्त्रीले बिहिबार नै सेनाका उच्च अधिकारीहरुसँग समायोजनमा जान चाहने लडाकुहरुलाई अब अपनाइने प्रक्रिया र नयाँ भर्तीबारे कुराकानी गरेका छन्।

सरकारले केहि समय अघि सेनामा रिक्त रहेको तीन हजार पदमा मधेशी युवालाई भर्ती गर्ने निर्णय गरी सेनालाई निर्देशन समेत दिएको थियो।

खण्डन

तर त्यसको चर्को विरोध र आलोचना भएपछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकमुष्ठ भर्ती गर्ने भन्ने कुराको खण्डन गरिएको थियो।

भर्ती प्रतिस्पर्धाबाटै गर्ने तर त्यसमा बढी भन्दा बढी मधेशी युवालाई भर्ती गर्न चेतना र जागरणमुलक कार्यक्रम ल्याउने बताइएको थियो।

भदौको शुरुतिर माओवादी र तराई केन्द्रित दलहरुको समुह संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको चारबुँदे सहमति अनुसार ती निर्णय गरिएका थिए।

त्यसैको आधारमा सरकार बनेपनि माओवादीकै एउटा पक्ष र विपक्षीहरुले चारबुँदेको विरोध गर्दै आइरहेका छन्।

चारबुँदे कार्यान्वयनको मागमा मोर्चाले दवाव दिन थालेपछि केहि समय पहिले सरकारले सेनामा रिक्त पदमा तीन हजार मधेशी युवालाई भर्ना गर्ने निर्णय गरेको थियो।

कुराकानी

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकारको समीक्षा र सेनामा भर्तीबारे कुराकानी भएको बताउँछन्।

प्रधानमन्त्रीले सेनाका उच्च अधिकारीहरुसँग आजै लडाकु समायोजनको प्रक्रिया र मधेशीकव भर्तीबारे छुट्टै कुराकानी गरेको उनले जानकारी दिए।

यसै साताको शुरुमा भएको लडाकु व्यवस्थापन सम्बन्धी विशेष समितिको बेठक पछि माओवादी लडाकुलाई सेनामा भर्नाबारे प्रधानमन्त्री मार्फत सेनासँग कुराकानी हुने विपक्षीहरुले बताएका थिए।

तर विहिबार सेनासँग भएको बैठकमा विपक्षीहरु सहभागी थिएनन्।

नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले उक्त कुराकानीबारे प्रतिक्रिया दिन चाहेनन्।

सेनाको वर्तमान आकार नै आवश्यकता भन्दा ठूलो रहेको प्रमुख दलका शीर्ष नेताहरुले बताउँदै आएका छन्।

समावेशीकरण महत्वपूर्ण विषय भएपनि सेनाको स्वरुपको समीक्षा नगरी यसमा भर्तीको कुरामात्र अगाडि बढाउनुलाई सैन्यवीदहरु स्वाभाविक ठान्दैनन्।