विपक्षीहरु माओवादीप्रति सशंकित

  • 6 जनवरी 2012
maoists office तस्वीर कपीराइट BBC World Service
Image caption तीन दलले गरेका सहमति कार्यान्वयन नभएको भन्दै प्रमुख विपक्षीहरु सशंकित छन्

संविधान लेखन र शान्ति प्रक्रिया टुंग्याउन एकसाथ जुटेका प्रमुख सत्तारुढ दल र प्रमुख विपक्षीहरुबीच अविश्वास बढ्दै गएको देखिएको छ।

शान्ति र संविधानका लागि सातबुँदे छ बुँदे र विशेष समिति मार्फत गरिएका सहमति कार्यान्वयन नभएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले एकीकृत माओवादीप्रति संशंकित बनेका छन्।

शान्ति प्रक्रिया टुंग्याउन र संविधान लेख्न भन्दै रातदिन गरेर सातबुँदे सहमति गरेपछि दलहरु एक अर्काप्रति निकै सकारात्मक देखिएका थिए।

त्यसपछि गरिएका अरु पनि सहमति कार्यान्वयन नभएको ‌औंल्याउँदै एमाले नेता भीम रावल भन्छन्,"गतिरोध नै उत्पन्न गरिरहनुभएको छ माओवादीहरुले। पहिले देखि नै सहमति गर्ने कार्यान्वयन नगर्ने पहिले देखिकै प्रवृत्तिकै पुनरावृत्ति हुनसक्छ।"

शंका

प्रमुख विपक्षी कांग्रेस पनि माओवादीप्रति उत्तिकै संशकित देखिएको छ।

कांग्रेस नेता अर्जुन नर्सिंह के सी भन्छन्, "सातबुँदे पछि हामी गंभीर सकारात्मक भएका थियौं तर सहमति गर्ने र त्यसको मसी सुक्न नपाउँदै गलत अर्थ लगाएर बंग्याउने काम उनीहरु गर्छन्।"

शान्ति प्रक्रिया र संविधान लेखनबारे झण्डै समान मत राख्दै आएका विपक्षी दलहरु कांग्रेस र एमाले उनीहरुकै भनाइमा माओवादीसँग गम्भीर कुराकानी गर्ने मनस्थितिमा छन्।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, फरक दर्शनमा आधारित दलहरुबीच शान्ति र संविधान टुंग्याउन भइरहेका सहमतिको प्रयासमा आपसी लेनदेनलाई प्रभावकारी बनाउन एक आपसमा कहिले आकर्षित र कहिले विकर्षित देखिने गरेका छन्।