चारबुँदे सहमति कार्यान्वयन हुँदैछ: मन्त्री

  • 7 जनवरी 2012
माओवादी नेता, आश्वासन
Image caption मोर्चाका मुख्य माग जुनबाटोबाट भएपनि पुरा गर्ने आश्वाशन माओवादी नेताले दिएका छन्

तराई केन्द्रित क्षेत्रीय दलहरुको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एकीकृत माओवादीसँग सरकार बनाउँदा गरेको चारबुँदे सहमति क्रमश कार्यान्वयन हुँदै गएको बताएको छ।

चारबुँदे सहमति गरेको महिनौं वित्दा पनि पुरा गर्न नसकेको भन्दै आन्तरिक रुपमा आलोचना खेप्दै आएका मोर्चाका नेताहरुले केहि समय यता सहमति कार्यान्वयन गर्न सरकारलाई दवाव दिँदै आएका छन्।

यसै साता पनि मोर्चा र प्रमुख सत्तारुढ घटक माओवादीबीच चारबुँदे कार्यान्वयनका लागि संयुक्त बैठक बसेको थियो।

आश्वासन

बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्रीले मन्त्रीपरिषदको निर्णय या विधेयक जुन बाटोबाट भएपनि मोर्चाको माग पुरा गर्न आफुहरु तयार रहेको आश्वाशन दिएको बताइन्छ।

शनिबार बसेको मोर्चाको आन्तरिक बैठकमा मोर्चाका दोश्रो तहका नेताहरुले सहमती कार्यान्वयनबारे चर्को गुनासो गरेपछि पहिलो तहका नेताहरुले बचाउ गर्ने तयारी गरेको बताइएको छ।

बैठकमा सहभागी एकजना मन्त्री दानबहादुर चौधरी भन्छन्, “नेताहरुले आफ्ना भनाइ राख्ने काम पुरा भएको छ, अब बस्ने बैठकमा पाँचै पार्टीका अध्यक्षहरुले जवाफ दिएपछि एउटा निष्कर्ष निस्कनेछ।”

निर्णय

चारबुँदे सहमतिमा समेटिएका तीन प्रमुख बुँदाहरु तराइको नागरिकताको समस्या सेनामा भर्ती र राज्यका निकायलाई समावेशी बनाउनेबारे आफुहरुले विभिन्न निर्णय गराएको मन्त्री चौधरी बताउँछन्।

संविधान सभाको सबभन्दा ठूलो दल भएपनि बहुमत नभएका कारण माओवादी सरकार मोर्चाको समर्थनमा आधारित छ।

साथै गृह, सन्चार कानून लगायतका महत्वपूर्ण मन्त्रालय मोर्चासँग रहेकाले आफ्ना मागहरु कार्यान्वित हुनेमा सरकारमा सहभागी मधेशी नेताहरु विश्वस्त देखिन्छन्।