नेपाल चीनको उच्च महत्वमा: सरकार

  • 14 जनवरी 2012
चीन र नेपालका प्रधानमन्त्री तस्वीर कपीराइट .
Image caption चिनियाँ सहयोग सम्बन्धि आठवटा सहमति पत्रमा दुई देशबीच हस्ताक्षर भएको छ

चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणपछि प्रतिकृया जनाउँदै सरकारले नेपाललाई चीनले उच्च महत्वमा राखेको टिप्पणी गरेको छ।

विश्व शक्ति हुने तयारीमा रहेको उत्तरी छिमेकी चीनका प्रधानमन्त्री वेन जिया बाओ नेपाल भ्रमणमा शनिवार आकस्मिक रुपमा काठमाण्डू ओर्लेका थिए।

चिनियाँ प्रधानमन्त्रीको एक दशकपछि भएको नेपाल भ्रमणका क्रममा वेन करिव साढे चारघण्टा काठमाण्डूमा रहे।

उनलाई प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थलमा स्वागत गरेका थिए।

भ्रमणपछि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनमा भने, "चीनले नेपाललाई उच्च महत्वमा राखेको कुरा भ्रमणबाट पुष्टी भएको छ।"

चासो

नेपालको आन्तरिक मामिलामा दक्षिणी छिमेकी भारतको जस्तो चासो र प्रभाव नराख्ने विश्वास गरिने जनवादी गणतन्त्र चीनले राजतन्त्रको अन्त्यपछि चासो बढाएको पाइन्छ।

त्यस सन्दर्भमा भएको उक्त भ्रमणपछि जारी संयुक्त विज्ञप्तीमा दुई देशका प्रधानमन्त्रीबीच अन्तराष्ट्रिय र क्षेत्रिय मुद्दाहरुमाथिको साझा चासोबारे दृष्टिकोण साटासाट भएको उल्लेख छ।

सिंहदरवारमा प्रधानमन्त्री भट्टराईसँगको भेटपछि वेनले त्यहीं दुई ठूला विपक्षि र सत्ताधारी दलका प्रमुखसँग भेटघाट गरेका थिए।

राष्ट्रपति डा रामवरण यादव उनको कार्यालयमा भेट गरेपछि वेन खाडी मुलुक तर्फ उडेका थिए।

उनले पार्टी प्रमुखहरुसँगको भेटमा नयाँ संविधान लेखन र शान्ति प्रकृया छिट्टै तार्किक निष्कर्षमा पुग्ने आशा पनि व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ।

फरक

चीनियाँ प्रधानमन्त्री वेनको नेपाल भ्रमण विगतको परम्पराभन्दा फरक थियो।

वेन अघिका चीनियाँ प्रधानमन्त्री झु रोङ्जीले दश वर्षअघि नेपाल आएका बेला पत्रकार सम्मेलन नै गरेका थिए।

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री पनि कुनै कार्यक्रममा सार्वजनिक हुन्थे।

तर वेनको नेपाल भ्रमणको औपचारिक जानकारी सरकारले उनी काठमाण्डू ओर्लिनु एक घण्टा बाँकी छँदा मात्र दिएको थियो।

कारणबारे श्रेष्ठको भनाई थियो, "त्यस्तो कुरा द्वीपक्षिय सहमतिमा हुने कुरा भएकाले त्यसै अनुसार बुझि दिनुपर्छ।"

कडाई

वेनको भ्रमणका क्रममा काठमाण्डूको सुरक्षा व्यवस्था निकै कडा गरिएको थियो।

उनी विमानस्थल निस्किदा र फर्किँदा सवारी साधन गुडन त के पैदल यात्रीलाई समेत सडक छेउछाउमा हिंडन रोक लगाइएको थियो।

स्वतन्त्र तिव्बतको माग गरिरहेका तिब्बती शरणार्थीहरुको सम्भावित विरोध प्रदर्शन रोक्न केही सय तिब्बतीलाई सुरक्षा नियन्त्रणमा लिइएको बताइएको छ।

स्वतन्त्र तिब्बतको पक्षमा नेपालमा हुने गतिविधि र त्यसलाई पश्चिमा तथा केही हदसम्म भारतले दिने गरेको भनिएको सहयोग र समर्थनलाई लिएर चीनले नेपालप्रति बढी चासो र चिन्ता व्यक्त गर्ने गरेको बताइन्छ।

तर प्रधानमन्त्री वेनले नेपालको एक चीन नीतिप्रति धन्यवाद दिनु बाहेक त्यसबारे अरु कुनै आग्रह नगरेको परराष्ट्र मन्त्री श्रेष्ठको भनाई थियो।

भ्रमणका क्रममा चीनले नेपाललाई विभिन्न क्षेत्रमा दिने सहयोगबारे आठवटा सहमति पत्रमा हस्ताक्षर गरिएको छ।