व्यवस्थापिका संसदको बैठक सातौं पटक अवरुद्ध

  • 1 फेब्रुअरी 2012
भट्टराई नेतृत्वको मन्त्रिपरिषद तस्वीर कपीराइट .
Image caption मन्त्रिपरिषदका पछिल्ला केहि निर्णय विवादको घेरामा छन्

सशस्त्र द्वन्द्वकालमा माओवादीले गरेका घरजग्गा सम्बन्धी कारोबारहरुलाई मान्यता दिने सरकारी निर्णय फिर्ता नभएको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरेपछि बुधबार संसदको बैठक सातौं पटक अवरुद्ध भएको छ।

घरजग्गा र अन्य महत्वपूर्ण विषयहरुबारे निर्णय लिंदा प्रधानमन्त्रीले संसदलाई छलेको आरोप प्रतिपक्षीले लगाएका छन्।

मंगलबार मात्रै सर्वोच्च अदालतले द्वन्द्वकालमा जनसत्ता भनिने माओवादी निकायले गरेका घरजग्गा किनबेचका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

तर बुधबार संसद खुल्ने बित्तिकै प्रतिपक्षी दलहरुले सरकारले सो निर्णय फिर्ता नलिएसम्म सदनको कारवाही चल्न नदिने अडान दोहोर्‍याए।

आक्रोश

घरजग्गा सम्बन्धी माओवादीको द्वन्द्वकालीन निर्णयको सरकारी अनुमोदनको विरोधमा दुई साता अघि सदन अवरोधको श्रृङ्खला शुरु हुनासाथ सभामुखले त्यसबारे जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका थिए।

तर त्यसपछिका अन्य बैठकहरुमा जस्तै बुधबार पनि सरकारको जवाफ नआए पछि प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेका सभासदहरुले सरकारविरुद्ध आफ्ना आक्रोश पोखे।

सरकारले संसदलाई छलेर एकपछि अर्को काम गरिरहेको भन्दै नेकपा एमालेका सभासद शंकर पोखरेलले प्रधानमन्त्रीको आलोचना गरे।

“संसदले सम्माननीय प्रधानमन्त्रीज्यूलाई खोजिरहेको छ, तर उहाँले संसदलाई छलेर बाहिर बाहिरै कार्यक्रमहरु घोषणा गरिरहनु भएको छ, उनले भने।”

पोखरेलले सरकारले गत साता घोषणा गरेको आर्थिक विकासका कार्यक्रमको पनि आलोचना गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले प्रधानमन्त्रीले कर्मचारी सरुवा जस्ता निर्णय एकलौटी ढंगले गरेको भन्दै त्यसको तीखो आलोचना गरे।

“उहाँ सुसाशनको कुरा गर्नु हुन्छ, तर हरेक एक, डेड महिनामा कर्मचारीहरुको सरुवा गर्ने उहाँको बानी नै भइसक्यो,” घिमिरेले भने।

समस्याहरु

संसदमा बोल्ने अन्य सभासदहरुले नेपाल दुई ठूला छिमेकीहरुमध्ये एकमा मिसिन सक्ने भन्ने प्रधानमन्त्रीको हालैको अभिव्यक्ति र बजारमा पेट्रोलियम र खाना पकाउने ग्यासको हाहाकारको समस्याबारे आवाज उठाएका थिए।

प्रतिपक्षी सभासदहरुको विरोधका कारण संसदको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुन पुग्यो।

संसदको बैठक यसरी लगातार अवरुद्ध हुदा कैयौ महत्वपूर्ण विधेयकहरु थन्किरहेको अधिकारीहरुको भनाइ छ।

संसद अवरोधको श्रृङखलाका माझ बिहिबार बस्ने संविधानसभाको वैठकले संविधान निर्माणको नयाँ कार्यतालिकामाथि छलफल गर्ने कार्यक्रम छ।