भरपर्दो विकल्प भए राजीनामा गर्न तयार: प्रधानमन्त्री

  • 10 फेब्रुअरी 2012
माओवादी उपाध्यक्ष मोहन वैद्य
Image caption उपाध्यक्ष वैद्य समूहले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ

एकीकृत नेकपा माओवादीभित्र उपाध्यक्ष मोहन वैद्य पक्षधरहरुले दबाब बढाएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको लागि भरपर्दो विकल्प प्रस्तुत भए आफुले छाड्न सक्ने बताएको उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जनाएका छन्।

तर वैद्य पक्षधरहरुले चाहीं प्रधानमन्त्रीले राजीनामा गरेपछि मात्रै विकल्पको बाटो खुल्ने जनाएका छन्।

शुक्रबार बसेको स्थायी समितिको बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने बारे छलफल थालिएको नेताहरुले जनाए।

निशाना

विपक्षीहरुलाई थामथुम पार्न सशस्त्र द्वन्द्वकालमा माओवादीका स्थानीय निकायले गरेका घरजग्गा कारोबारका लिखतलाई मान्यता दिने निर्णय फिर्ता लिए लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नै पार्टीको प्रभावशाली खेमाको निशानामा परेका छन्।

स्थायी समिति बैठकमा बोल्ने नेताहरुमध्ये धेरैले अहिलेकै अवस्थामा सरकार चल्न सक्दैन भनेपछि प्रधानमन्त्रीले भरपर्दो विकल्प भए छाड्न तयार रहेको जनाउ दिएको बताइएको छ।

“पार्टीभित्रबाट राष्ट्रिय सहमतिको अर्को भरपर्दो विकल्प नहुँदासम्म राजीनामाको कुरा गर्नु न सान्दर्भिक छ, न व्यवहारिक छ। त्यसैले अहिले पार्टीभित्रका केही साथीहरुले राजीनामाको माग गर्नुभयो भन्दैमा राजीनामा दिइहाल्नु उपयुक्त छैन भन्ने प्रधानमन्त्रीको धारणा छ,” प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने।

माओवादी उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा रहेको असन्तुष्ट समूहका नेताहरुले भने प्रधानमन्त्री भट्टराईले राजीनामा गरेपछि विकल्प प्रस्तुत गरिने बताएका छन्।

“पहिला प्रधानमन्त्रीको अर्को विकल्प खडा हुनुपर्छ अनि राजीनामाको प्रश्न आउँछ भन्ने तर्क सही छैन। किनभने यो भन्दा अगाडिपनि त्यसरी सरकार कहिले बनेन,” पार्टी सचिव सी पी गजुरेलले भने।

आक्रोशित

यसअघि माधवकुमार नेपाल र झलनाथ खनालले राजीनामा दिंदा ताका अपनाइएको प्रक्रियाप्रतिको गजुरेलको संकेतले प्रधानमन्त्री पक्षधरहरुलाई आक्रोशित बनाएको छ।

“आफ्नै पार्टीबाट त्यस्तो कुरा गर्नु भनेको वास्तवमा जनताका बीच लज्जित हुने कुरा हो। प्रतिपक्षीहरुले समेत शान्ति प्रक्रिया टुंग्याउनुस् रचनात्मक सहयोग गर्छौं भनेको अवस्थामा पार्टीभित्रबाट त्यसरी सोच्नु सान्दर्भिक हुँदैन,” पौडेलले भने।

त्यस्तो अवस्था सान्दर्भिक भएपनि, नभएपनि नेपाली राजनीतिमा सर्वथा नौलो भने होइन।

भट्टराई अघिका दुईवटै प्रधानमन्त्री उनीहरुकै पार्टीले असहयोग गर्नाले बाहिरिन वाध्य भएका थिए।

त्यस्तै नियति भट्टराईको हुने सम्भावनालाई माओवादीभित्र चलेको पछिल्लो विवादले बल मिलेको छ।