‘वाईसीएलका माग पुरा गर्न प्रचण्ड सहमत’

  • 25 फेब्रुअरी 2012
माओवादी लडाकुहरु
Image caption वाईसीएललेपनि पूर्व लडाकुहरुलाई जस्तै प्याकेजको माग गरेको छ

माओवादी सेनाबाट यङ्ग कम्युनिष्ट लिग, वाईसीएल, मा आएकाहरुलाई सम्मानपत्र तथा आर्थिक प्याकेज दिन अध्यक्ष प्रचण्डले सहमति जनाएपछि अब उक्त विषय पार्टीको स्थायी समितिमार्फत टुंग्याइने वाईसीएलका नेताहरुले बताएका छन्।

वार्ता

वाईसीएलका केही कार्यकर्ताले आफ्ना माग पुरा नगरे पार्टी कार्यालय तथा प्रचण्ड निवास घेराउ गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेपछि माओवादी नेतृत्वले आफ्नै भ्रातृ संस्थासंग वार्ता गरिरहेको छ।

शान्ति प्रक्रिया र संविधान निर्माण टुंग्याउन विपक्षी दलहरुसंग छलफलमा रहेको एकीकृत नेकपा माओवादीलाई कार्यकर्ताहरुको भरणपोषणको सम्बन्धमा आफ्नै भ्रातृ संगठनसंग वार्तामा उत्रिनु परेको हो।

शनिबार वाईसीएलको देशैभरीका राज्य कमिटिका संयोजकहरु सहित बसेको बैठकमा प्रचण्डले खासगरी वाईसीएलमा प्रवेश गरेका पूर्व लडाकुहरुलाई सम्मान गर्न र आर्थिक सहायता प्रदान गर्न तयार रहेको जनाएका थिए।

बैठकपछि बोल्दै वाईसीएल अध्यक्ष गणेशमान पुनले भने, “हिजो जनमुक्ति सेनाको अग्रपंक्तिमा रहेर काम गरेका साथीहरुलाई सम्मान गर्ने तथा केही आर्थिक सहायता गर्ने कुरालाई ठोस कार्यरुप दिने गरी छिट्टै पदाधिकारी र स्थायी समितिले टुंग्याउने अध्यक्ष प्रचण्डले बताउनु भएको छ।”

सकेसम्म आईतबारनै बस्ने स्थायी समितिको बैठकले यी कुरा टुंग्याएपछि वाईसीएलका मध्यक्षेत्रका केही कार्यकर्ताले अघि सारेका आन्दोलनका मागहरु सम्बोधन हुने पनि उनले जनाए।

खर्च हिसाब

त्यसरी सम्मान र आर्थिक सहायता दिनुपर्ने वाईसीएल कार्यकर्ताहरुको संख्या तीन हजारको आसपासमा रहेको पुनको भनाइ थियो।

स्वैच्छिक अवकाश रोजेका माओवादी लडाकुहरुलाई पाँच देखि आठ लाख रुपियाँ दिईएपछि वाईसीएलका कार्यकर्ताहरुले आन्दोलन थालेका थिए।

आफुहरुले पनि त्यस्तै रकम पाउनुपर्ने आन्दोलनकारीहरुको माग छ।

तीन हजारलाई पाँच लाखको दरले रकम दिनुपरेमा करीब डेढ अर्ब रुपियाँ खर्च लाग्ने हिसाब निक्लन्छ।

यसअघि माओवादी पार्टीले आफ्नै आन्तरिक श्रोतबाट केही आर्थिक सहायता जुटाईदिने आश्वासन दिएको थियो।

त्यो पुरा हुन ढिलाइ भएको भन्दै वाइसीएलका केही कार्यकर्ताहरुले आन्दोलनको घोषणा गरेका थिए।

निशाना

माओवादी शान्ति प्रक्रियामा आएपछि गठन भएको वाईसीएल छोटै समयमा निकै विवादित बन्न पुगेको थियो।

विरोधीहरुमाथि कुटपिट तथा हिंसात्मक गतिविधि गरेको भन्दै विपक्षी दलहरुको लगातार विरोधको निशानामा वाईसीएल परेको थियो।

केही समय यता उसका गतिविधि सुस्त पारिएको छ।

अब चाहिं आफुहरुलाई पार्टीले रचनात्मक भूमिका दिनुपर्ने माग वाईसीएलले राखेको छ।

“युवाहरुलाई उत्पादनमूलक कार्यमा, सीप विकास, कला, संस्कृति, खेलकूद लगायतका विभिन्न पाटाहरुमा रचनात्मक ढंगले अघि बढाउने गरी कार्यक्रमहरु गरिनुपर्ने हामीले सल्लाह सुझाव दिएका छौं,” पुनले भने।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत विपक्षीहरुले वाईसीएलको संरचना अर्धसैन्य किसिमको भएकोले त्यस्तो संरचना पुरै भंग गरिनुपर्ने माग राख्दै आएका छन्।