तीन दलको बैठक उपलब्धिविहीन

  • 26 फेब्रुअरी 2012
माओवादी, अध्यक्ष प्रचण्ड
Image caption माओवादी अध्यक्ष प्रचण्डले यस अघि गरिएका सहमति कार्यान्वयन गर्ने प्रतिवबद्धता पुन जनाएका छन्

शान्ति प्रक्रिया र संविधान निर्माणलाई गति दिन जिम्मेवारी पाएका तीन दलका शीर्ष नेताहरुको आइतबारको बैठकमा कुनै उपलब्धी हुन सकेन।

गत शुक्रबार जिम्मेवारी पाएका नेताहरुले शनिबारै प्रस्ताव पेश गर्ने भनिए पनि कार्यव्यस्तताको कारण आइतबार मात्रै बैठक बसेको थियो।

शान्ति प्रक्रियाबारे एकीकृत माओवादी, सत्य तथा मेलमिलाप निरुपण आयोग लगायतका विषयमा नेपाली कांग्रेस र संविधानमा रहेका विवादित विषयमाथि नेकपा एमालेले प्रतिवेदन पेश गर्ने भनिए पनि आइतबारको बैठकमा कुनै प्रतिवेदन पेश भएन।

जिम्मेवारी

आइतबारको बैठकमा कुनै पनि दलका शीर्ष नेताबाट ठोस प्रस्तावहरु नआएको बैठकमा सहभागी एमाले नेता भीम रावलले बताए।

उनले भने, “लिखित प्रतिवेदन पेश गरिएन। आ आफ्ना तर्फबाट कुराकानीका लागि तयार रहेको बताइयो।”

तीन दलका नेताहरुले शान्ति प्रक्रिया र संविधान लेखन टुंग्याउन आपसी विवाद सल्ट्याउने जिम्मेवारी तीन शीर्ष नेताहरुलाई सुम्पिएका छन्।

शंका

संविधान लेखन र शान्ति प्रक्रिया टुंग्याउन भन्दै तीन दलबीच कात्तिक १५मा गरिएको सात बुँदे पछि हौसिएका कांग्रेस एमाले नेताहरु माओवादीसँग उक्त सहमति कार्यान्वयन नगरेको भन्दै सशंकित छन्।

आइतबारको बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले सहमति बमोजिम कुराकानी टुंग्याउने प्रतिबद्धता जाहेर गरेको भनिएपनि विपक्षीहरु आउँदो बिहीबार निश्चित गरिएको बैठकमा माओवादीको रोडम्यापको पर्खाइमा देखिन्छन्।