‘शान्ति संविधानबारे प्रस्ताव पेस’

  • 1 मार्च 2012
माओवादी अध्यक्ष प्रचण्ड तस्वीर कपीराइट Reuters
Image caption प्रचण्डले सेना समायोजनका विवाद हल गर्ने गरी प्रस्ताव पेश गर्ने जिम्मा पाएका थिए

विहिबार बसेको तीन दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन, नेपाली कांग्रेस सभापति सुशील कोइरालाले सत्य निरुपण तथा मेलमिलाप लगायत अन्य आयोगहरु निर्माण तथा एमाले नेता माधवकुमार नेपालले संविधान निर्माणका विवाद हल गर्ने भन्दै प्रस्ताव पेश गरेका थिए।

प्रस्तावको विस्तृत विषयवस्तुबारे नेताहरुले बोल्न चाहेनन् तर छलफल सकारात्मक दिशातिर उन्मुख रहेको उनीहरुले बताएका छन्।

‘सार्वजनिक नगर्ने’

खासगरी माओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने भनिएको सेना समायोजनका बाँकी विवाद हल गर्ने प्रस्तावप्रति धेरैको ध्यान केन्द्रित थियो।

तर विहिबार उनले पेश गरेको प्रस्तावबारे नेताहरुले खुलेर बोल्न चाहेनन्।

“शीर्ष नेतृत्व तहमा भएको छलफललाई अहिले सार्वजनिक नगरौं भन्ने भएको छ। सार्वजनिक बहस गर्दा कतिपय अवस्थामा सम्झौता गर्न कठिन हुन्छ,” अर्थ मन्त्री तथा माओवादी नेता वर्षमान पुनले भने।

विहिबार प्रस्तुत प्रस्तावहरुमाथि आन्तरिक छलफल गरी शनिवारको बैठकमा ठोस कुराकानी हुने नेताहरुले बताएका छन्।

प्रस्तावहरु सकारात्मक रहेको बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए।

“बैठकमा हामी झन्डै झन्डै सहमति नजिक पुगेका थियौं। पर्सी शनिबार हामी फेरी बस्छौं अनि त्यसपछि ठोस रुप आउँछ,” पौड‌लले भने।

‘सेनाले मिलाउँछ’

सबभन्दा विवादास्पद बनेको माओवादी लडाकुको दर्जा निर्धारणको विषयमा सात बुँदे सहमति अनुरुपनै कुरा अगाडि बढाउने सहमति भएको उनले जनाए।

दर्जा निर्धारण सम्बन्धी सबै विवाद नेताहरुले भन्दा पनि सेनाले संबोधन गर्नु पर्ने उनको भनाई थियो।

“सेनाको दर्जाको कुरा पार्टीका नेताहरुले किन निर्धारण गर्ने? त्यो सेनाको माप्दण्ड अनुसार उसले गर्छ, हामीले किन टाउको दुखाउने,” पौडेलले भने।

गएको शुक्रबार तीन दलका शीर्ष नेताहरुले शान्ति प्रकृया र संविधानका विवादित विषय समाधान गर्न ठोस प्रस्ताव ल्याउने गरी जिम्मेवारी बाँडफाँड गरेका थिए।

विहिबार उनीहरुले पेश गरेको प्रस्ताव सकारात्मक रहेको प्रारम्भिक टिप्पणी सार्वजनिक भएपनि त्यसले परिणाम दिईहाल्ने हो वा होइन भन्ने कुरा अझै प्रष्ट नभइसकेको विश्लेषकहरु बताउँछन्।