सातबुँदे कार्यान्वयनबारे प्रमुख दलबीच विवाद

  • 3 मार्च 2012
Image caption तीन प्रमुख राजनीतिक दलबीच सातबुँदे सहमति कार्यान्वयनबारे विवाद देखिएको छ

तीन दलका शीर्ष नेताहरुको जारी बैठकमा एकीकृत माओवादीले सेना समायोजन लगायतका विषयमा नयां सहमति गर्न कोसिस गरिरहेको तर विप्रक्षी नेपाली कांग्रेस र एमालेले भने विगतमा भएको सातबुँदे सहमतिबाट बाहिर जान नचाहेको बताइएको छ।

शुक्रबारदेखि चलिरहेको शीर्ष नेताहरुबीचको छलफल मुख्यगरी सेना समायोजन र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा केन्द्रित रहेपनि ती विषयहरुमा प्रगति हुन नसकेको सहभागी नेताहरुले बताए।

शीर्ष नेताहरुको बैठकमा कांग्रेस एमालेले गत कात्तिकमा तीन दलबीच गरिएको सातबुँदे सहमतिको अक्षरश: कार्यान्वयनमा जोड दिइरहेको बताइएको छ।

थप सहमति

माओवादीले चाहिँ आफ्ना लडाकु र पार्टी भित्रको असन्तुष्टि दर्शाउँदै कांग्रेस, एमालेसँग सातबुँदेमा उल्लेख भए भन्दा थप राजनीतिक सहमतिका लागि आग्रह गरेको शनिबारको शीर्ष नेताहरुको बैठकमा सहभागी कांग्रेस नेता अर्जुन नर्सिंह केसीले बताए।

केसीले भने, "सातबुँदे सहमति सबैले खुशी राजीसित गरेका हौं, एकपटक गरेको सहमति अक्षरश पालना गरौं भन्ने हाम्रो आग्रह र अडान दुबै हो।"

माओवादीले आफ्ना लडाकुहरुको समायोजनलाई सकेसम्म उच्च स्थान दिलाउने प्रयास कायमै राखेको बताइन्छ।

आग्रह

माओवादीका तर्फबाट शनिबारको बैठकमा सहभागी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले समायोजनबारे लचक बन्न गरेको आग्रहमाथि झण्डै समान दृष्टिकोण राख्दै आएका कांग्रेस एमालेले सातबुँदेकै कार्यान्वयनमा जोड दिएको कांग्रेस नेता केसीले बताए।।

तर शान्ति प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुबीच थप सहमति आवश्यक रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले औंल्याए।

उनले भने, "केही प्रसंगहरु राजनीतिक निर्णय नगरीकन सेनाको मापदण्डका आधारमा मात्र सबै कुरा टुंग्याउँ भन्ने हो भने समायोजन हुन सक्दैन। त्यसैले र्‍यांकका विषयमा राजनीतिक निर्णय गरौं भन्ने हाम्रो प्रस्ताव हो।"

सातबुँदेमा लडाकुहरुलाई व्यक्तिगत योग्यताका आधारमा प्रचलित सैन्य नियमका आधारमा समायोजन गर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउने लगायतका सहमति गरिएको थियो।