माओवाद माग बमोजिम सेना समायोजन हुन सक्दैन: एमाले

  • 4 मार्च 2012
नेकपा एमालेको जनप्रदर्शन तस्वीर कपीराइट AP
Image caption नेकपा एमालेले पार्टीको महत्वपूर्ण भेलाका लागि काठमाण्डूमा जनप्रदर्शन गरेको थियो

नेकपा एमालेका शीर्ष नेताहरुले माओवादी लडाकु समायोजनमा उनीहरुलाई उच्च पद दिइनुपर्ने एकीकृत माओवादीको पछिल्लो प्रस्ताव आफुहरुले नमान्ने सार्वजनिक घोषणा गरेका छन्।

देशभरका आफ्ना कार्यकर्तालाई राजधानी ओरालेर शक्ति प्रदर्शन गरेका एमाले नेताहरुले सातबुँदे सहमति बमोजिम नै शान्ति प्रक्रिया टुंग्याउन माओवादीलाई आग्रह गरेका थिए।

सभामा नेताहरुले प्रमुख सत्तारुढ दल एकीकृत माओवादी र अर्को सत्तारुढ समुह तराइ केन्द्रीत दलहरुको मोर्चाको समेत आलोचना गरेका थिए।

काठमाडौंको खुलामन्चमा आइतबार आयोजित एमाले राष्ट्रिय प्रतिनिधि परिषदको प्रथम बैठकको उदघाटन अवसरमा एमाले अध्यक्ष झलनाथ खनालले समायोजनको समय आएपछि माओवादीले समस्या उब्जाएको बताएका थिए।

बखेडा

शान्ति प्रक्रिया टुंग्याउन सातबुँदे सहमति कार्यान्वयनमा जोड दिँदै खनालले भने"समायोजनमा जाने प्रक्रिया आएपछि बखेडाबाजी शुरु गरिएको छ। त्यसो नगर्न माओवादीलाई आग्रह गर्दछु। त्यसो गरिएन भने शान्ति प्रक्रिया टुंगिदैन र संविधान पनि लेख्न सकिन्न। "

आफ्नो मन्तब्यको धेरै समय शान्ति प्रक्रिया र संविधान लेखनमा केन्द्रित राखेका एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पनि माओवादीले माग्दै आएको समायोजन पछि बन्ने महानिर्देशनालयको नेतृत्व दिन अस्वीकार गर्दै भने, "एमाले माओवादीको धम्कीबाट तर्सिन्न। उनीहरुलाई चाहिए बमोजिम सेनामा नेतृत्वदायी भूमिका दिन सकिन्न।"

मुश्किल

नेपालले संविधान लेखनमा रहेका मतभेद सजिलै मिल्न सक्ने तर शान्ति प्रक्रिया टुंग्याउन भने गाह्रो बनेको बताएका थिए।

एमालेको जुलुश र सभा हुनु अघि आइतबारै एमाले अध्यक्ष खनाल निवासमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्ष विहिन बनेको थियो।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददता भन्छिन्, पार्टीको आन्तरिक सभामा प्रमुख सत्तारुढ दल माओवादीको आलोचनाले शीर्ष तीन प्रमुख दलहरुबीच अझ पनि चर्को असहमति कायमै रहेको संकेत मिल्ने र त्यसले तीनदलबीच सजिलै सहमति बन्नेमा शंका उत्पन्न भएको छ।