नेपालको ओलिम्पिक सहभागिता-१

  • 7 मार्च 2012
बेइजींग ओलिम्पिक्समा सहभागी नेपाली टोली राष्ट्रपतिका साथ
Image caption बेइजींग ओलिम्पिक्समा सहभागी नेपाली टोलीलाई राष्ट्रपति रामवरण यादवले विदाई गरेका थिए

नेपालको ओलिम्पिक सहभागिता सन् १९५२ को हेलसिन्की ओलिम्पिकबाट भएको थियो भनिन्छ। एथलेटिक्स खेलाडी स्वर्गीय कृष्णबहादुर बर्माले लेखेको किताव “जापानमा मैले के के पाएं” मा उनले हेलसिन्की ओलिम्पिक खेलेको उल्लेख गरेका छन्। लेखक रमेश खनालका अनुसार वर्मा र नरशम्शेर जवराले सो ओलिम्पिक खेलेका थिए। तत्कालीन राजा त्रिभुवनले उनीहरुलाई ओलिम्पिक पठाएका थिए। तर यो तथ्यको पुष्टि भने हुन सकेको छैन।

अन्तर्राष्ट्रिय ओलिम्पिक काउन्सिलले नेपालको ओलिम्पिक सहभागितालाई आधिकारीक रुपमा उल्लेख गरेको पाइंदैन।

पर्यवेक्षक

सन् १९६० को रोम ओलिम्पिकमा भने नेपालले एकजना पर्यवेक्षक पठाएको भनिएको छ। ओलिम्पिक प्रतियोगीतामा सहभागी हुने नेपालको पहिलो औपचारिक अनुभव भने सन् १९६४ को टोकियो ओलम्पिकमा भयो।

नेपाली ओलिम्पिक्स इतिहासको उल्लेखनीय घटनाका रुपमा सन् १९६३मा नेपालमा पहिलोपल्ट ओलिम्पिक ज्योति ल्याइएको थियो। सन् १९६४ को टोकियोमा भएको १८ औं ओलिम्पिक खेलकुदमा ६ जना नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

म्याराथनमा दुई धावक गंगाबहादुर थापा मगर र भुपेन्द्र सिलवाल तथा बक्सिङमा नमिसंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा ती गौरवशाली नामहरु हुन्।

तस्वीर कपीराइट Jitendra Raut
Image caption हिंसात्मक हुन पुगेको म्युनिख ओलिम्पिक्समा जीतबहादुर केसी सहभागी थिए

१९६८ को मेक्सिको ओलम्पिकमा नेपालले सहभागिता जनाएन। त्यसपछि सन् १९७२ मा जर्मनीको म्युनिखमा सम्पन्न २०औं ओलिम्पिकमा नेपालबाट धावक जीतबहादुर केसी र भक्तबहादुर सापकोटाले भाग लिए।

यही ओलिम्पिक्समा इजरायलका ११ खेलाडीलाई ओलिम्पिक खेलग्राममा हत्या भएको थियो। नेपाली खेलाडीहरु बसेको कोठा अगाडि भएको सो हत्याकाण्डमा नेपाली खेलाडीहरुले पनि गोली चलाएको आवाज सुनेका थिए।

एक्लो सहभागी

२१ औं मोन्ट्रियल ओलिम्पिकमा नेपालको तर्फबाट एक्लो सहभागीको रुपमा बैकुण्ठ मानन्धरले म्याराथनमा नै सहभागिता जनाए। उनले २ घण्टा ३०:०७ मिनेटमा दौड पुरा गरी ५० औं स्थान प्राप्त गरेका थिए।

१९८०मा भएको मस्को ओलिम्पिकमा एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा गरी १२ नेपाली खेलाडीहरुले भाग लिए। बैकुण्ठ मानन्धर, मुकुन्दहरि श्रेष्ठ र लक्ष्मण बस्नेतले म्याराथनमा भाग लिए। नरबहादुर दाहाल १० हजार मिटरमा र रघुराज वन्तले १०० मिटर दौडमा भाग लिए। बक्सिङतर्फ रविराज थापा, उमेश मास्के, नरेन्द्र पुमा, पुष्करध्वज शाही र विष्णु मालाकारले भाग लिएका थिए।

१९८४ को लस एन्जलिस् ओलिम्पिकमा एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा नै ११ नेपाली खेलाडीले भाग लिएका थिए। यो ओलिम्पिक्समा बैकुण्ठ मानन्धरको लगातार तेस्रो सहभागिता थियो।

उनीसंगै आमिरी यादव अर्जुन पण्डित म्याराथनमा दौडिए। पुष्पराज ओझा र जोधा गुरुङले ४०० मिटर दौडमा भाग लिए। बक्सिङतर्फ उमेश मास्के, प्रवीण तुलाधर, मनबहादुर श्रेष्ठ र दलबहादुर राना मगरले भाग लिए। भारोत्तोलनमा सुरेन्द्र हमाल र जगदीश प्रधानले राष्ट्रिय कीर्तिमान रच्ने काम गरे।

ऐतिहासिक

१९८८ मा सोलमा भएको २४औं ओलम्पिक्स भने नेपालको लागि ऐतिहासिक भयो। ओलिम्पिकमा पहिलो पटक प्रदर्शनी खेलको रुपमा समावेश गरिएको खेल तेक्वान्दोबाट नेपालका विधान लामाले काश्य पदक जितेर ओलिम्पिक संसारलाई चकित तुल्याए।

तस्वीर कपीराइट courtesy Nepal Olympic Museum
Image caption सउल ओलिम्पिक्समा विधान लामाले तेक्वान्दोमा काश्य पदक जीतेका थिए

प्रदर्शनी खेलको कारण सो पदक आधिकारिक पदक तालिकामा भने परेन। सोल ओलिम्पिकमा नेपालले कुल ६ खेलहरु- एथलेटिक्स, बक्सिङ, शुटिङ, भारोत्तोलन, तेक्वान्दो र जुडोबाट १८ खेलाडी पठाएको थियो।

एथलेटिक्समा म्याराथनबाट बैकुण्ठ मानन्धर, टीका बोगटी, कृष्ण बस्नेत, हरिबहादुर रोकाय, डम्वर कुंवरले तथा महिला म्याराथन धावक राजकुमारी पाण्डे र मेनुका राउतले सहभागिता जनाएका थिए।

बक्सिङका सहभागी थिए दलबहादुर राना मगर, विष्णुबहादुर सिंह, झपट सिंह भुजेल, रामबहादुर गिरी र डम्वरदत्त भट्ट। जुडोमा गंगाबहादुर डंगोल तथा ऋषिराम प्रधानले तथा भारोत्तोलनमा भरत साउदले सहभागिता जनाएका थिए।

सन् १९९२ को २५औं ओलम्पिकमा, तेक्वान्दोमा सीता राईका अलावा नारायण गुरुङ र प्रमिला थापाले भाग लिएका थिए भने एथलेटिक्सबाट हरिबहादुर रोकाय र शुटिङबाट अनिता श्रेष्ठ गरी कुल ५ खेलाडीले मात्र भाग लिएका थिए।

१९९६ को एटलान्टा ओलिम्पिकमा नेपालबाट जम्मा ६ खेलाडीले मात्र भाग लिए। एथलेटिक्सबाट म्याराथनमा टीका बोगटी र विमला रानामगर, शुटिङको १० मिटर एयर राइफलतर्फ विभाश्वरी राई, भारोत्तोलनबाट सुनिललाल जोशी र पौडीबाट निश्मा गुरुङ र सीताराम शाही।

(नेपालको ओलिम्पिक्स इतिहासको बांकी विवरण दोस्रो खण्डमा हेर्नुहोला।)